सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा पढाइ सुरु गर्न माग

२०८२ जेठ ५, ०५:०७ खबर संवाददाता

धनगढी : नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा आउँदो आर्थिक वर्षबाट चिकित्सा पढाइ सुरु गर्न माग गरेको छ।

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधि सभाबाट पारित भएपछि सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिले खुशी व्यक्त गर्दै चिकित्सा पढाइ चाँडै सञ्चालन गर्न माग गरेको हो।

विगत वर्षदेखि नै सङ्घर्ष गर्दै आएको समितिले विधेयक पारितले थोरै भएपनि नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयले मूर्त रूप पाएको पत्रकार सम्मेलन गरेर जनाएको छ। सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेय (आगो) विधेयक पारित हुनु ठुलो सफलता रहेको बताए। उनले विश्वविद्यालय पूर्ण रूपमा सञ्चालनमा नआएसम्म समितिको आन्दोलन नरोकिने उल्लेख गर्दै ऐनमा टेकेर आगामी आर्थिक वर्षबाट चिकित्सा पढाइ र ६ सय शय्याको अस्पताल सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।

यसका लागि समितिले आगामी आर्थिक वर्षमा कम्तीमा चार अर्बसम्म बजेट छुट्याउन सङ्घीय सरकारलाई आग्रह गरेको छ। बनेको संरचनालाई कुनै पनि हालतमा वर्वाद हुन नदिने सङ्घर्ष समितिको जिकिर छ। तीन वर्षमा १३६ वटा आन्दोलन पश्चात यो उपलब्धि हात लागेको जनाइएको छ।

आर्थिक वर्ष २०६६÷६७ मा सरकारले गेटा मेडिकल कलेज बनाउने घोषणा गरेर भौतिक संरचना निर्माणको काम अगाडि बढाएको थियो। डेढ दशकको अवधिमा विभिन्न आरोह अवरोधकाबिच नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय बनेको छ। पूर्व सांसद् डा. दीपकप्रसाद भट्टले विधेयक पारित भइसकेको अवस्थामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिलाई अझ रचनात्मक र सृजनात्मक भएर काम गर्न गरेका छन्।

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पहिलो चरणमा नै न्यूनतम् भौतिक संरचना बनिसकेको थियो। त्यति बेलै विधेयक पारित भइ दिएको भए अहिलेसम्म विश्वविद्यालयको काम धेरै अगाडि बढी सक्ने पूर्वाधार निर्माण समितिका पूर्व अध्यक्ष हेमराज पुजाराको भनाइ छ। उनले विश्वविद्यालय ल्याउन संघर्ष समितिको ठुलो योगदान रहेको चर्चा गरेका छन।

ऐन आउँदैमा सबै कुरा आएको होइन भन्दै पुजाराले आवश्यक जनशक्ति, उपकरण व्यवस्थापन र चिकित्सा पढाइ सञ्चालनका लागि पर्याप्त मात्रामा बजेट आवश्यक पर्ने उल्लेख गरे। उनले यसका लागि आवश्यकतानुसार बजेट छुट्याउनका लागि पहल गर्न सबैलाई आग्रह गरेका छन्।

कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. सुरेन्द्र चन्दले संघर्ष समितिको अथक प्रयासमा उपलब्धि हासिल भएको बताएका छन्। यसलाई अगाडि बढाउन सबैको सहयोग आवश्यक रहेको उनले बताए।

 

कमेन्ट लोड गर्नुस