अध्यक्ष साउँदले ‘कमिसन’ नपाएपछि चिस्यान केन्द्रको ठेक्का नहुदै रद्द

धनगढी: अछामको बान्नीगढी–जयगढ गाउँपालिकाले चिस्यान केन्द्र निर्माणको ठेक्का सम्झौता नहुँदै रद्द गरेको छ।
चिस्यान केन्द्र निर्माणका लागि गाउँपालिकाले दुई करोड ४२ लाख रुपैयाँको ठेक्का सम्झौताको प्रक्रिया थालेको थियो। तर, सम्झौताको प्रक्रिया अन्तिम समयमा रद्द गरिएको हो। आर्थिक प्रस्ताव खोलेपछि गाउँपालिकाले ठेक्का रद्द गरेको छ। गाउँपालिकाले नियम विपरीत ठेक्का रद्दको सूचना सार्वजनिक गरेको कम अङ्कमा ठेक्का हालेको इएनएस हरिगंगा जेभीले आरोप लगाएको छ। इएनएस हरिगंगाको कम मूल्य रहेकाले ठेक्का सुनिश्चित भएका बेला सम्झौता गर्न बोलाउनुको सट्टा रद्द गरिएको गुनासो गरिएको हो।
गाउँपालिकाले गत फागुन १४ गते चिस्यान केन्द्र निर्माणको बोलपत्र आह्वान गरेको थियो। पाँच वटा निर्माण कम्पनीले प्राविधिक प्रक्रिया पार गरेर आर्थिक प्रक्रियामा पुगेका थिए। तर, अन्तिममा गाउँपालिकाले वैशाख २६ गते बोलपत्रको प्रक्रिया रद्द गरेको सूचना सार्वजनिक गरेको हो। इएनएस हरिगंगा जेभीले २ करोड १२ लाख रुपैयाँमा चिस्यान केन्द्रको भवन निर्माण गर्ने भन्दै सबै भन्दा कम कबोल अंक राखेको थियो। वैशाख २१ गते आर्थिक प्रस्ताव खोलेको गाउँपालिकाले सात दिन भित्रमा सम्झौताका लागि बोलाउनुपर्नेमा उल्टै रद्दको सूचना सार्वजनिक गरेको हरिगंगा जेभीले बताएको छ। कम्पनीले ठेक्काको सूचनासमेत माग गरेको थियो। गाउँपालिकाले ठेक्काको प्रक्रिया मिचेको भन्दै उच्च निकायमा उजुरी दिने तयारी गरेको हेमराज ढुंगानाले बताएका छन्।

गाउँपालिका अध्यक्ष टेकबहादुर साउँदको ठाडो निर्देशनसहित गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर रावल, लेखा अधिकृत नारद खनालको सल्लाह बमोजिम ठेक्का रद्द गरिएको आरोप छ। गाउँपालिका अध्यक्ष टेकबहादुर साउँदले तत्कालै ठेक्का छनोट समितिका सदस्यलाइ डाकि के कसरी हुन्छ ठेक्का रद्द गर्न आवश्यक बाटो खोज्न निर्देशन नै दिएका बुझिएको छ। आफुले सोचेको र आर्थिक लाभ लिन मिल्ने निर्माण कम्पनीले ठेक्का नपाउने भएपछि उनले रद्द गर्न निर्देशन दिएका आरोप छ। यता, अध्यक्ष साउँदले ठेक्का रद्द गरिएको बताए। तर, ठेक्का प्रक्रिया रद्द गर्नुको कारण खुलाउन चाहेनन्।