धनगढीमा कुप्रथा रोक्न ४५ दिनसम्म अभियान सञ्चालन

कैलाली : कुप्रथा र कुलत रोक्न धनगढी उपमहानगरपालिका– १२ मा ४५ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ।
वडा नम्बर १२ ले शान्ति सुरक्षा, लागु औषध, घरेलु मदिरा, घरेलु हिंसा, झै–झगडा, बालविवाह, बहुविवाह, तथा सरसफाइका साथै अन्य विकृतिको नियन्त्रणसम्बन्धी ४५ दिनसम्म अभियान सञ्चालन गरेको हो।
गत चैत ८ गतेबाट सुरु भएको अभियान शनिवार एक कार्यक्रमका बिच समापन गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य सन्तोष शर्मा थापाले अहिलेसम्म पनि छाउपडी पर्था कायम रहनु दुःखद रहेको बताइन। हामी आफै परिवर्तनमा लागेनौँ भने देश समाज न बन्ने भन्दै उनले कुरिती, कुसंस्कार रोक्न सबै एक हुनुपर्नेमा जोड दिएकी छन्।

४५ दिनसम्म वडाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, महिला स्वास्थ्य स्वयंसेविकासँगै विभिन्न टोलवासीको सहभागितामा अभियान सञ्चालन गरिएको वडा अध्यक्ष शेरबहादुर महराले बताए। ४५ दिनसम्म विभिन्न कार्यक्रम, घरदैलो अभियान, टोल सरसफाइ, जनचेतनात्मक सन्देश दिइएको उनले बताए। टोलवासीहरूलाई बोलाएर अन्तरक्रिया उनीहरूका समस्याबारे जानकारी लिएर हामीले यो अभियान सञ्चालन गरेको महराले बताएका छन्।
अध्यक्ष महराले भने, ‘अनी टोलमा गएर जनचेतना दियौँ ६ गाउँका सार्वजनिक क्षेत्रलाई धूम्रपान मध्यपान निषेधित क्षेत्र बनाउने घोषणा गरेका छौँ, सरसफाइसम्बन्धी लागि दुई दिन तालिम दिएर सरसफाईसँगै डस्टविन वितरण पनि गरेका छौँ, यसका साथै छाउपडी पर्थासम्बन्धी जनचेतनाका साथै छाउगोठहरू भत्काएका छौँ।’
यसका साथै मनोरोग विशेषज्ञ चिकित्सक बोलाएर लागु औषधविरुद्धको सचेतना कार्यक्रम पनि आयोजना गरिएको उनले बताए। अभियानमा बजार अनुगमन, बालविवाह, बहुविवाहसम्बन्धी जनचेतना दिइएको थियो।