सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको चैतन्य पाठशालाको नयाँ भवन उद्घाटन

२०८२ वैशाख १७, ०८:०७ खबर संवाददाता

धनगढी : धनगढी उपमहानगरपालिका–५, शिवनगरमा रहेको चैतन्य पाठशालाको नयाँ भवन उद्घाटन गरिएको छ।

पाठशालाले नयाँ प्लस टु तहका लागि नव निर्मित भवन र पोडकास्ट स्टुडियोको उद्घाटन गरिएको हो। शिक्षा क्षेत्रको विकास र शैक्षिक गुणस्तर अभिवृद्धिको उद्देश्यसहित निर्माण गरिएको सो भवनको सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. हेमराज पन्तले उद्घाटन गरेका हुन्।

उक्त उद्घाटन समारोहमा विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी, विभिन्न विद्यालयका प्रतिनिधिहरू तथा स्थानीय समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि पन्तले शिक्षा राष्ट्र निर्माणको मेरुदण्ड भएको उल्लेख गर्दै शिक्षा र संस्कारको संगम वेद र विज्ञानको संयोजनको रुपमा रहेको चैतन्य पाठशालाले यस्तो महत्वपूर्ण पूर्वाधार निर्माण गरेर शिक्षामा योगदान पु¥याएको बताए।

चैतन्य पाठशालाका प्राचार्य प्रेम निधि ओझाले नयाँ भवनसँगै प्लस टु तहमा अझ प्रभावकारी र आधुनिक शिक्षण प्रणाली लागू गरिने बताए। विज्ञान, व्यवस्थापन, शिक्षा लगायतका संकायहरूमा प्रयोगात्मक तथा सूचना प्रविधिमैत्री सिकाइ विधिहरूलाई प्राथमिकता दिइने उनले बताएका छन्।

विद्यालयका अध्यक्ष गणेश प्रसाद जोशीले चैतन्य पाठशालाले किताबी ज्ञान मात्रै नभएर समाजमा रहेका विभिन्न मूल्य मान्यताको समेत अध्ययन अध्यापन गराउँदै आएको बताए। अब प्लस टु सञ्चालन भएसँगै अझ झन् बृहत् रूपमा अगाडि बढ्ने लक्ष्य रहेको उनले बताएका छन्।

कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक सिताराम भट्टले चैतन्य पाठशालासँग आफू अभिभावकको रुपमा जोडिएको बताए। चैतन्य पाठशालाका यी गतिविधिले आफूलाई गौरवान्वित बनाएको उनले बताएका छन।

 

कमेन्ट लोड गर्नुस