सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको यातायातमा ‘टोकन प्रणाली’बाट सेवा, एसीमा सेवाग्राहीका कुर्सी

२०८२ वैशाख १७, ०७:५३ कमल सावद

धनगढी : कैलालीको गोदावरी नगरपालिका–२ राधाकृष्ण टोलका देवबहादुर विष्ट बुधवार यातायात कार्यालय, धनगढीमा भेटिए। यातायात कार्यालयमा उनी सेवाका लागि पुगेका हुन्।

यातायात कार्यालय, धनगढीको बाहिर घाममा हुने लामो लाइनमा बसेर सेवा लिने गरेका विष्ट बुधवार दङ्ग थिए। कार्यालयमा प्रवेश गरेको ३० मिनेटमा उनले सबै सेवा पाए। उनले भने, ‘पहिलाको भन्दा धेरै राम्रो सेवा छ। पहिला लाइनमा बस्नुपर्ने थियो। सेवाग्राहीलाई दुःख दिने गरिएको थियो। बिचौलियाहरू थिए। अहिले छैनन्। टोकन सिस्टम छ। पहिला गर्मीमा लाइनमा बस्नुपर्ने थियो। अहिले पङ्खा छन्। एसी छन।’

यातायात कार्यालयको दक्षिण क्षेत्रको नयाँ भवनमा टोकन प्रणालीसहितको सेवा दिन थालिएको हो। भवनको प्रवेशद्वारमा नै टोकनको लागि उपकरण राखिएको छ। सवारी चालक अनुमति पत्रका लागि सेवाग्राहीले सुरुमा चिकित्सकको कक्षमा जानुपर्ने हुन्छ। चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि अन्य सेवा लिनुपर्ने हुन्छ। बायोमेट्रिक, नविकरण, प्रतिलिपि र फोटो खिच्ने कक्ष एक ठाउँमा राखिएको छ। राजस्व बुझाउने ठाउँ फरक कोठामा बनाइएको छ। सोधपुछ तथा सवारी चालक अनुमति पत्र वितरणको कक्ष अर्को ठाउँमा राखिएको छ। अधिकृतको कक्ष पनि नयाँ भवनमा राखिएको छ।

सुदूरपश्चिम प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको कार्यालयमा सेवाग्राहीका लागि सुविधासहितको भवन तयार भएपछि एसीमा कुर्सीसहितको सेवा थालिएको हो। कार्यालयको भित्र सेवाग्राही प्रतीक्षा गर्ने ठाउँहरूमा एसीहरू जडान गरिएका छन्। पङ्खाहरू पनि छन्। सेवाग्राहीका लागि बेन्च तथा कुर्सीहरू पनि राखिएका छन्। टोकनको नम्बर अनुसार उनीहरूले सेवा पाउने गरेका हुन्।

सहरी विकासले भवन निर्माण गरेपछि सेवाग्राहीले एसीसहितको सुविधामा सेवा दिन थालिएको यातायात कार्यालय, धनगढीका निमित्त प्रमुख विनोदकुमार मालीले बताए। पाँच वर्षदेखि अलपत्र राखिएको उपकरण मर्मत गरेर टोकन प्रणाली सुरु गरिएको हो। उनले भने, ‘सेवाग्राहीले एक टोकन लिनुहुन्छ, टोकन लिएपछि निरोगिताको प्रमाणपत्र लिनुहुन्छ। चिकित्सक बस्नु भएको छ, भित्र। चिकित्सकले प्रमाणित गरेपछि बायोमेट्रिक गर्नुहुन्छ। अनि, राजस्व बुझाएपछि काम सकिन्छ, घर जानुहुन्छ।’

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको कार्यालयले नयाँ भवनको ढोका नजिक नै टोकनका लागि उपकरण राखेको छ। झण्डै पाँच वर्ष अगाडि खरिद गरिएको उपकरण मर्मत गरेर कार्यालयले प्रयोगमा ल्याएको हो। टोकन लिएका सेवाग्राहीले सुरुमा चिकित्सकको कोठामा जानुपर्ने हुन्छ। टोकन प्रणालीको आधारमा सेवाग्राहीले सबै सेवाहरू पालै–पालो पाउने गरेका छन्। यातायात कार्यालय, धनगढीका निमित्त प्रमुख विनोदकुमार मालीले भने, ‘सेवाग्राहीलाई बस्नका लागि बेन्चको व्यवस्था छ। हल्ला हुँदैन। पहिला बाहिर लाइनमा बस्नुपर्ने थियो। बेन्चपनि थिएन्। टोकन पनि थिएन्। सेवाग्राहीले उभिएर सेवा लिनुपर्ने थियो।’

यातायात कार्यालय, धनगढीमा टोकन प्रणाली लागु भएपछि पालो मिचिने झन्झट हटेको छ। कार्यालयमा हुने बिचौलियाको बिगबिगी पनि कम भएको दाबी गरिएको छ। कार्यालयमा प्रवेश गरेका सेवाग्राहीहरूले पालैपालो सेवा पाउने गरेका हुन्। उनीहरूले चिसो एसी, पङ्खासहितको भवनको मुनी कुर्सीमा बसेर टोकन अनुसारको पालो पर्खिने गरेका छन्। बढीमा ३० मिनेटमा एक जना सेवाग्राहीले सबै सेवा पाउने गरेका छन्। कार्यालयको सबै दृश्य सीसी टिभी क्यामरामार्फत प्रमुखले कार्यकक्षबाट हेर्ने छन्। सेवाग्राहीको गतिविधि र कर्मचारीको कामको निगरानीका लागि क्यामरा जडान गरिएका छन्।

सवारी चालक अनुमति पत्र वितरण, नविकरण तथा र सवारी दर्ता, राजस्व सङ्कलन लगायतका कामहरू यातायात कार्यालय, धनगढीले गर्दै आएको छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस