सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक हजारबाट सुरु गरेको कृषिबाट करोडपति

। फोटो स्रोत ।
२०७६ असार २९, ०४:५८

आजभन्दा ४० वर्ष पहिले गरिबीका कारण के खाउँ र के लाउँको अवस्थामा रहेका व्यक्ति विदेश पनि नगाई र कुनै जागिर, व्यवसाय पनि नगरी करोडपति बनेको कुरा धेरैलाई अपत्यारिलो लाग्न सक्ला। तर, म्याग्दीको बेनी नगरपालिका वडा नं २ खवराका एक व्यक्ति विदेशी भुमिमा होइन आफ्नै खेत खलोको माटोमा खेल्दै, मिहिनेतका पसिना बगाउँदै,अरुलाई खुवाउँदै–आफूले खाँदै, हाँस्दै–रमाउँदै कृषिबाट नै करोडपति बन्न सफल भएका छन्।  

२०३४ सालमा १८ वर्षको उमेरमा  ‘विदेश पनि जान्न,जागिर पनि खान्न’भन्ने अडानका साथ १ हजारको लगानीबाट कृषि पेसा सुरु गरेका बेनी नगरपालिका २ खबराका चन्द्रवहादुर कार्की अहिल १ करोड भन्दाबढी सम्पत्तिको मालिक बन्न सफल भएका हुन्। संगै पढेका साथीहरु अहिले कृषि वैज्ञानिक, वरिष्ठ कृषि विकास अधिकृत लगाएत निजामति सेवाको उच्च तहमा पुगेका भएपनि कार्कीको प्रगति देखेर उनीहरु पनि आश्चर्य चकित हुने गरेका छन्। १ हजार रुपैयाँको लगानीबाट कृषि पेसा सुरु गरेका कार्की अहिले एक करोड भन्दा बढीको सम्पत्तिको मालिक मात्रै होइन जिल्लाका नमूना कृषक र कृषि पेसावाट नै सामाजिक सेवामा सक्रिय व्यक्तिको रुपमा चिनिन्छन्।

आफ्नो १८ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका कार्की जिल्लामा मिश्रित खेती प्रणालीका पहिलो कृषक समेत हुन्। कार्कीको खेतवारीमा वाह्रैमास आलु, बन्दा, काउली, गोलभेडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानी लगाएतका तरकारी र केरा, सुन्तला, कागती, अम्बा लगाएतका फलफूलहरु लहलह झुलीरहेका र लटरम्म फलिरहेका देखिन्छन्।

गोठमा भौसी, बाख्रा, घरवरपर राखेका मौरीका घारमा रहेका मौरी र माछा पालनबाट पनि कार्कीले मनग्गे आम्दानी गर्दै आएका छन्। ‘मैले १८ वर्षको उमेरदेखि तरकारी खेती सुरु गरेको हुँ’, कार्कीले विगत कोट्याउँदै भने ‘त्यतिबेला मलाई जागिर खान वा विदेश जानका लागि धेरै अफर आएका थिए, तर मैले जागिर पनि नखाने र विदेश पनि नजाने अडिड् लिएर कृषि पेशा सुरु गरें,अहिले त्यतिबेला मैले सही निर्णय गरेको रहेछु भन्ने लाग्छ।’ 

१ हजार रुपैयाँ लगानीबाट सुरु गरेको व्यवसायिक तरकारी खेतीले कार्कीलाई अहिले १ करोड भन्दा बढीको मालिक बनाएको छ। तरकारी विक्रिबाट आएको आम्दानीले कार्कीले अत्यन्तै महङ्गो शहरमध्येमा पर्ने बेनी बजारको मंगलाघाटमा घडेरी किनेर घर समेत बनाइसकेका छन्। त्यसै गरी पर्वत  बेनीमा समेत घडेरी किनेका छन्। कृषिबाट मात्र वार्षिक १२ लाख रुपैयाँ भन्दा बढी कमाइ हुने बताउने कार्कीले दैनिक ३ लिटर दूध समेत विक्रि गर्छन। 

त्यसैगरी गाउँमा र बेनीको मंगलाघाटमा गरी दुईवटा पसल समेत संचालन गरेका छन्। बेनीको मंगलाघाटमा रहेको उनकोपसलमा आग्र्या्निक कृषि उपज,फलफूल र तरकारीका विरुवा (बेर्ना) बर,पिपल,समी,तुलसी लगाएत धार्मिक वृक्षका विरुवासमेत पाइन्छन्। त्यसैगरी कृषि पेशाबाट भएको आम्दानीले कार्कीले गाउँमा जग्गा समेत जोड्नुभएको छ। ‘१ हजार रुपैयाँबाट सुरु गरेको कृषि पेसाले अहिले करोडौंको सम्पत्तिको मालिक बनायो’ कार्कीले भने। ‘माटोसंग खेल्दा र माटोमा पसिना चुहाउँदा निकै आनन्दको अनुभूति हुन्छ’ कार्कीले भने—‘यही माटोमा गरेको परिश्रमले मलाई यहाँसम्म ल्याईपु¥यायो। यिनै पसिना विदेशी भूमीमा खर्च गरेको भए न मैले यत्तिको कमाउन सक्थें,न मलाई आत्मसन्तुष्टि नै हुन्थ्यो।’ कार्कीको भनाइ थियो।

खबराको पिपल डाडाँको तल्लोपट्टी पर्यटकीय स्थल लभलिहिलको नजिकै रहेको उनको घर र खेतवारी कृषिको प्रयोगशाला जस्तो देखिने स्थानीय बुद्धिजीवि भद्रवहादुर कार्कीले  बताए। सधैभरी तरकारी र फलफूलले हरियाली देखिने कार्कीको नर्सरी,तरकारी खेती र केरावारी हेर्नका लागि लभहिलमा पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरु समेत उहाँको घरमा नै जाने गरेका छन्।

आकर्षक पर्यटकीय स्थलको रुपमा विकसित हुँदै गरेको लभहिलमा आन्तरिक पर्यटकहरुको चाप बढ्दै गएपछि कार्कीले करिब १० लाखको लगानीमा स्विमिङ पुल (पौडीपोखरी) समेत बनाएका छन्। कार्कीको स्विमिङ पुलमा प्रतिव्यक्ति ३० रुपैयाँ तिरेपछि चाहेजति समय पौडिखेल्न पाइन्छ। कार्कीको घर पर्यटकीय स्थल लभहिलदेखि ५ मिनेटको दुरीमा रहेको छ।

कार्कीको प्रगतिदेखेर त्यहाँ पुग्ने धेरै मानिसहरुले आश्चर्य प्रकट गर्दछन्। गर्न सक्ने हो भने आफ्नै माटोमा पैसा फलाउन सकिदो रहेछ भन्ने कुराको प्रमाण वनेका कार्कीलाई उनका छोरा र श्रीमती लक्ष्मी कार्कीले सघाउछन्।
  

कमेन्ट लोड गर्नुस