सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालको कफीको बजार युरोपसम्म

। फोटो स्रोत ।
२०७६ असार २९, ०३:४१

नेपालमा पहिलोपटक कफी खेतीसम्बन्धी तथ्यांक संकलन कार्य सम्पन्न भएको छ। केन्द्रीय तथ्यांक विभागले एक वर्ष लगाएर गरेको अध्ययनअनुसार नेपालको कफी खेती ९६ प्रतिशत अर्गानिक रहेको पाइएको छ र यसको बजार युरोपसम्म फैलिएको छ। व्यवसायिक कफीखेती सर्वेक्षण २०७५र७६ अनुसार नेपालमा ६ हजार ३ सय ४६ वटा कफी उत्पादन गर्ने कृषि फर्महरु सञ्चालनमा छन्। मुलुकको चार प्रदेशका ३२ जिल्लामा व्यावसायिक रुपमा कफी खेती हुँदै आएको सर्वेक्षणले देखाएको छ।

देशभरमा ९७३ हेक्टरमा जमीनमा व्यावसायिक रुपमा कफी खेती गरिएको छ भने करिब १५ लाख ५ हजार कफीका बोटहरु रोपिएका छन्। अध्ययन अवधिमा ८ लाख २१ हजार कफीको बोटबाट फल उत्पादन भइरहेको छ भने ६ लाख ८४ हजार कफीका बोटहरु फल लाग्ने क्रममा छन्। सरदर बार्षिक रुपमा अध्ययन अवधिभर नेपालमा १५ लाख ७३ हजार किलो कफीको कच्चा दाना (फ्रेस चेरी) उत्पादन भएको केन्द्रीय तथ्यांक विभागले जारी गरेको सर्वेक्षणमा भनिएको छ।

नेपालमा १२ लाख हेक्टर जमिनमा कफीको खेती गर्न सकिने भए पनि अहिले करिब २ हजार हेक्टरमा जमीनमा मात्रै कफी खेती हुँदै आएको छ। नेपालमा कफीका बिरूवा उत्पादन गर्ने ५५ वटा नर्सरी छन्। देशभरिमा वार्षिक ७ लाख २० हजार १ सय १० विरूवा उत्पादन हुँदै आएको सर्वेक्षणमा उल्लेख छ।

यस्तै प्रदेश १, प्रदेश ३, गण्डकी प्रदेश र प्रदेश ५ मा बढी मात्रामा कफी खेती हुँदै आएको छ। प्रदेश ३ को काभ्रे सबैभन्दा बढी कफी खेती तथा उत्पादन हुने जिल्ला हो भने प्रदेश ५ को प्युठान सबैभन्दा थोरै कफी खेती गरिने जिल्ला हो। काभ्रेमा १०४.३ हेक्टर क्षेत्रफलमा गरिएको कफी खेतीबाट २२१ मेक्ट्रिक्टन कफी उत्पादन भएको छ।

सर्वेक्षण अनुसार प्रदेश १, ३, गण्डकी प्रदेश र प्रदेश ५ मा व्यावसायिक कफीखेती हुँदै आएको छ। प्रदेश १ मा वार्षिक १ सय ३ मेट्रिक टन कफी उत्पादन हुन्छ। सर्वेक्षण अनुसार प्रदेश १ का १० जिल्लामा कफीको व्यावसायिक खेती भएको पाइएको छ। ती मध्ये सबैभन्दा बढी इलामका ४१.५ प्रतिशत र सबैभन्दा कम धनकुटामा १.८ प्रतिशत किसान कफीको व्यवसायिक खेतीमा आबद्ध छन्। प्रदेश ३ का १० जिल्लामा व्यवसायिक रूपमा कफी खेती हुन्छन् ती मध्ये सबैभन्दा धेरै काभ्रेपलाञ्चोकमा ३४.२ प्रतिशत र सबैभन्दा कम मकवानपुर जिल्लामा ०.५ प्रतिशत किसान कफीको व्यावसायिक खेतीमा संलग्न छन्।

गण्डकी प्रदेशका ८ जिल्लाबाट वार्षिक ४ सय २२ मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ। गण्डकी प्रदेशको स्याङ्जा सबैभन्दा धेरै कफी खेती हुने जिल्ला हो। कुल कफी खेतीको ३७.८ प्रतिशत हिस्सा यस जिल्लाले ओगटेको छ। गण्डकी प्रदेशको म्याग्दीमा सबै भन्दा कम ०.७ प्रतिशत किसान कफीको व्यावसायिक खेतीमा संलग्न छन्। प्रदेश ५ को ४ जिल्लाबाट सरदर वार्षिक २ सय ८९ मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ। प्रदेश ५ को गुल्मी कफीको लागि प्रख्यात जिल्ला हो। प्रदेशको कुल उत्पादनमा गुल्मीको हिस्सा ४९.७ प्रतिशत छ।

सर्वेक्षण अनुसार किसानहरु कफी खेतीप्रति आशावादी देखिएका छन्। उनीहरुले सरकारी तबरबाट प्रशस्त मात्रामा सहयोगको अपेक्षा पनि गरेका छन्। गुणस्तरीय प्राविधिक सेवा सहज उपलब्ध गराइदिनुपर्ने, सिञ्चाईको सुविधा उपलब्ध गराइदिनुपर्ने, ब्यवसाय प्रवर्द्धनका लागि तालिम र अध्यायन भ्रमणको ब्यवस्था गरिदिनु पर्ने,उत्पादित कफी बिक्रीका लागि बजारको व्यवस्था गरिदिनुपर्ने तथा ब्यवसाय प्रवर्द्धनका लागि अनुदान तथा सहयोग उपलब्ध गरिदिनु समस्या किसानहरुले राखेका छन्।

विउ, बिरुवा, मल छाहारी बोट, गुणस्तरीय औषधी सहज तथा शुलभ रुपमा उपलब्ध गराई दिनुपर्ने,आधुनिक मेशिन औजारको ब्यवस्था गरि दिनुपर्ने, उचित मूल्य निर्धारण गरिनुपर्ने, वीमाको व्यवस्था गरिनुपर्ने माग पनि किसानहरुको छ।

नेपालमा पाइने कफी अराबिका जातको हुन्छ। समुद्री सतहबाट एक हजारदेखि १६ सय मिटरको उचाइसम्म निकै राम्रो उत्पादन हुने नेपाली कफीको मुख्य अन्तर्रा्ष्ट्रिय बजार जापान, अमेरिका र यूरोपियन मुलुक रहेको नेपाल चिया तथा कफी बिकास बोर्डले जनाएको छ।
आर्थिक वर्ष ०७५र०७६ को एघार महिनामा नेपालबाट ७३ हजार ८१३ किलो बिभिन्न प्रकारका कफी निर्यात गरेको भन्सार विभागले जनाएको छ। उक्त निर्यातबाट मुलुकले ८ करोड ६३ लाख ७२ हजार रुपैयाँ नगद भित्र्याएको थियो।

कमेन्ट लोड गर्नुस