कञ्चनपुरमा राना मृत्यु घटनाः छानविनको लागि गृहमन्त्री लेखकलाई ज्ञापन पत्र

कञ्चनपुरः कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका हरिकिसन रानाको रहस्यमय ढंगले मृत्यु भएको भन्दै घटनाको निष्पक्ष छानबिनको लागि गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ।
नेपल रानाथारु समाजले कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ३ कमरीका भैँसीपालक किसान तथा दुग्ध व्यवसायी ५० वर्षीय हरिकिसन राना मृत्यु घटनाको निष्पक्ष छानबिनको लागि गृहमन्त्री लेखकको ध्यानाकर्षण गराइएको हो। रानाथारु समुदायका अगुवाहरूले घटनाको निष्पक्ष छानबिनको माग गर्दै बिहीवार गृहमन्त्री लेखकलाई ज्ञापन पत्र बुझाएका छन्।
वैशाख ९ गते मङ्गलवार बिहान बेलौरी नगरपालिका–१० शिवनगरस्थित निर्मल शारदा आर्यघाट नजिकै राना मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका थिए। घटनालाई रहस्यमय र शङ्कास्पद मानिएको छ।ज्ञापन पत्रमा भनिएको छ, “उक्त घटना शङ्कास्पद, रहस्यमयी रहेको तथा विविध सञ्चारमाध्यममा यस घटनासँग जोडिएर पुराना घटनाक्रम समेत सार्वजनिक भइरहेका छन्।

आमजनमानसमा व्यापक चासो र आक्रोश देखिएको हुँदा शङ्कास्पद व्यक्तिहरूलाई यथाशीघ्र हिरासतमा लिई निष्पक्ष छानबिन गरियोस्।” नेपाल रानाथारु समाजका अध्यक्ष कमल सिंह राना, पूर्व अध्यक्ष तथा संविधानसभा सदस्य कृपाराम राना, नेपाल रानाथारु युवा समाजका अध्यक्ष कमल राना, महासचिव अनिल राना, सचिव अर्जुन राना, केन्द्रीय सदस्य राम प्रताप राना, उपेन्द्र राना र अरुण सिंह बडायकसहितको टोलीले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।