सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका नदीमाहरुमा भेटिए घडियालका गुँड

२०८२ वैशाख १०, ०४:४४ खबर संवाददाता

धनगढीः कैलालीका नदीहरुमा घडियालका गुँड भेटीन थालेका छन्।

जिल्लामा रहेका विभिन्न नदीमा घडियालले अन्डा दिने तयारी गरिरहेका पाइएको हो। कर्णाली, मोहना, पथरैया नदीमा अन्डा दिनका लागि घडियालले परीक्षण गुँड बनाउन सुरु गरेका छन्। तीन वटै नदीको विभिन्न घाटमा अनुगमन गर्दा घडियालको एउटा अन्डा दिएकोसहित १६ वटा गुँड फेला परेको डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिए।

ढुङ्गानाका अनुसार यस वर्ष कर्णाली नदीमा सबैभन्दा बढी सात वटा घडियालको परीक्षण गुँड देखिएको छ। यस्तै मोहना नदीमा भजनी नगरपालिकास्थित हलौनाबाबाघाट र हिम्मतपुरघाटमा तीन÷तीन वटा गुँड भेटिएको छ। हिम्मतपुरको एउटा गुँडमा घडियालले अन्डा दिइसकेको जनाइएको छ।

यसै गरी पथरैया नदीमा पनि यस वर्ष घडियालको तीन वटा परीक्षण गुँड फेला परेको उनले बताए। मोहना नदीस्थित कुसुमघाटमा एउटा मगर गोहीको गुँड पनि भेटिएको छ। कैलालीमा पछिल्लो तीन वर्षयता घडियाल गोहीले गुँड बनाउने र बच्चा कोरल्ने गरेको पाइएको छ। गत वर्ष कर्णालीमा तीन र पथरैया नदीमा दुई गुँडमा घडियालले बच्चा कोरलेका थिए।

पाँच गुँडबाट घडियालले १२४ जीवित बच्चा निकालेको पाइएको थियो। पथरैया नदीमा रहेको एउटा गुँडको अन्डाबाट भने बच्चा निस्कन सकेनन्। पुस, माघमा प्रजनन क्रियापछि पोथीले चैत वैशाखतिर अन्डा दिने गरेको बताइएको छ। यिनीहरूले नदी किनारको बालुवामा गुँड (खाल्डो) बनाएर त्यसमा एकै पटक ४० वटासम्म अन्डा पार्ने गरेको बताइन्छ। खाल्डोमा अन्डा पुरेर गोही फेरि जलाशयमा फर्कने र बच्चा ननिस्केसम्म बेला बेला गुँडसम्म पुगेर रेखदेख गर्ने गरेको जनाइएको छ।

 

कमेन्ट लोड गर्नुस