सुदूर नेपाललाई विश्वसँग जोड्दै

संस्कार क्रिकेट लिगको उपाधि नारायण स्पोर्टलाई

२०८२ वैशाख १०, ०६:३१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा जारी टिम ११ संस्कार क्रिकेट लिग प्रतियोगिताको मंगलवार भएको फाइनल खेलको उपाधि नारायण स्पोर्ट क्लब कञ्चनपुरले जितेको छ।

जितसँगै नारायण स्पोर्ट क्लबले नगद एक लाख ११ हजार एकसय ११ सहित ट्रफी प्राप्त गरेको छ। त्यस्तै उपविजेतामा बनेको युथ अफ टीकापुरले ५५ हजार ५५५ नगदसहित ट्रफी प्राप्त गरेको छ। फाइनल खेलमा युथ अफ टीकापुरलाई पाँच विकेटले पराजित गर्दै नारायणले उपाधि हात पारेको हो। टस जितेर पहिला ब्याटिङ गरेको युथ अफ टीकापुर १३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटिएको थियो।

युथ अफ टीकापुरका लागि सुदीप साउँदले १६ तथा दिनेश रावतले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन निरासाजनक रह्यो। टीकापुरलाई सस्तैमा रोक्न नारायणका नेहाल दास र सचिन भट्टले समान तीन÷तीन विकेट लिए। उनान्असी रनको लक्ष्य पछ्याएको नारायण स्पोर्ट क्लबले १२ ओभर खेल्दै पाँच विकेट गुमाएर पूरा गर्याे। नारायणका लागि राहुल चन्दले १७ तथा सुनिल चन्दले अविजित १६ रनको पारी खेले। बलिङतर्फ युथ अफ टीकापुरका सागर रावलले तीन विकेट लिए।

संस्कार विद्याश्रम गोदावरी नगरपालिका–८ स्याउलेको आयोजनामा चैत ३० गतेदेखि सुरू भएको प्रतियोगितामा डोटी, कैलाली र कञ्चनपुरबाट १३ वटा टोली सहभागी रहेका थिए। प्रतियोगिताको वेष्ट ब्याट्स म्यान नारायण स्पोर्टका सुमित बुढाल भए। त्यसैगरी वेष्ट बलर उत्तर त्रिशुलका अनुप छेडाल घोषित हुँदा संस्कार विद्याश्रमका कप्तान रावल इमर्जिङ प्लेयर बनेका छन्। 

कमेन्ट लोड गर्नुस