सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लालपुर्जा पाएका चार मुक्त हलिया जग्गा नपाउदै अस्ताए

फाइल फोटो
फाइल फोटो
२०८२ वैशाख ८, ०७:३८ कमल सावद

धनगढी : कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा २१ मुक्त हलियाले पुर्जा पाएको १० वर्षसम्म जग्गा पाएका छैनन्।

जिल्लाको बेलडाँडी गाउँपालिका–२ रतनपुरमा २१ परिवारले जग्गा धनी पुर्जा पाएको १० वर्षसम्म जग्गाको उपभोग गर्न नपाएका हुन्। कञ्चनपुर जिल्ला स्तरीय मुक्त हलिया पुनःस्थापना समितिको २०७२ फागुन ६ गतेको बैठकले (क) वर्गका २१ मुक्त हलियाका परिवारलाई बेलडाडी गाउँपालिकामा पुनः स्थापना गर्ने निर्णय गरेको थियो।

बेलडाँडीका चार जना, रामपुरका ११ जना र भीमदत्तका ६ जनाको पुनः स्थापना गर्ने निर्णय भएको हो। (क) वर्गका मुक्त हलियाहरूलाई बेलडाँडी गाउँपालिका–२ रतनपुरमा ११ धुरका दरले जग्गाको लालपुर्जा वितरण गरिएको छ। समितिले २ लाखका दरले ४२ लाख रुपैयाँमा जग्गा खरिद गरेर मुक्त हलियाका नाममा पुर्जा वितरण गरेको हो। तर, उनीहरूले १० वर्षसम्म जग्गा भोगचलन गर्न पाएका छैनन्।

चार जनाको निधन

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ रतनपुरमा गोपाल दमाईँले २०७२ फागुन १६ गते १३ धुर जग्गाको लालपुर्जा पाएका थिए। उनीसँगै शिवराज दमाईँ, चन्द्र दमाईँ र प्रेम दमाईँको नाममा पनि १३/१३ धुरको जग्गा धनी पुर्जा छ। उनीहरू चारै जनाको निधन भएको छ। एक मुक्त हलियाले भने, ‘चार जनाको मृत्यु भइसक्यो। हामीहरू पनि जग्गा नपाउदै मर्छाै जस्तो छ।’ कञ्चनपुरका चार जना मुक्त हलियाहरू सरकारले वितरण गरेको जग्गा उपभोग गर्न नपाउदै अस्ताएका हुन। उनीहरूसँग जग्गाधनी पुर्जा पाएका अन्य मुक्त हलियाहरूले पनि १० वर्षसम्म जग्गाको भोगचलन गर्न पाएका छैनन्। उनीहरूले नेपाल सरकारलाई राजस्व मात्र बुझाउदै आएका छन्।

जिल्ला समितिको गोलमाल

मुक्त हलिया पुनःस्थापना समस्या समाधान समिति गठन आदेश, २०७० अनुसार गठन भएको जिल्ला स्तरीय समितिको २०७२ फागुन ६ गतेको बैठकको ३८ नम्बर निर्णय अनुसार जग्गा खरिद र वितरण गरिएको हो। कञ्चनपुरका २१ जना मुक्त हलियाहरूका लागि जग्गा खरिद, दर्ता र घर निर्माण तथा मर्मत गर्ने निर्णय समितिले गरेको हो। उनीहरूका लागि बेलडाँडी गाउँपालिका–२ रतनपुरमा ११ धुरका दरले २०७२ फागुन १६ गते जग्गा वितरण गरिएको थियो।

समितिले २ लाखका दरले ४२ लाखको जग्गा खरिद गरेको हो। उनीहरूको नाममा २०७२ फागुन १६ गते लालपुर्जा तयार भएको छ। मुक्त हलियाहरूलाई घर निर्माणका लागि प्रति परिवार एक लाख ५७ हजार पाँच सय निकासासमेत दिइएको छ। २०७२ को फागुनमा नै उनीहरूले २ लाख २५ हजार घर निर्माणको पाउनेमा एक लाख ५७ हजार पाँच सय रुपैयाँ पहिलो किस्ताको पाएका हुन। तर, उनीहरूले जग्गा हालसम्म पाएका छैनन्। एक मुक्त हलियाले भने, ‘हामीसँग लालपुर्जा छ। तर, जग्गा छैन। हाम्रा घर छैनन्। परिवार पाल्न समस्या छ। बालबच्चा कसरी पढाउ ?’ उनीहरूले सिम क्षेत्रको १३ धुर जग्गा २ लाखका दरले खरिद गरिएकाले समितिले बदमासी गरेकोसमेत आरोप लगाएका छन्। प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला समितिले गोलमाल गरेको मुक्त हलियाहरूले आरोप लगाएका हुन्। याक नेपालका अध्यक्ष बलबहादुर रोकायाले जिल्ला प्रशासन, नापी, मालपोत कार्यालयमा मुक्ति हलिया नगएका बताए। उनले भने, हाम्रो पनि कमजोरी भएको हो। हामी जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयमा गएनौ। जस्ले निर्णय गरेको हो, त्या जान सकेनर्छौ। जानुपर्ने थियो।’ समितिले पानी जग्गा हुने तथा डुबान क्षेत्रको जग्गा १३ धुरको दुई लाखका दरले खरिद गरेकाले गोलमालको आरोप लागेको हो।

खरिद–बिक्रीमा जालसाजी

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ रतनपुरमा सरस्वतीदेवी विष्ट र हेमराज जोशीको जग्गा समितिले खरिद गरेर प्रति परिवार एक सय ८६ दशमलव २३ वर्गमिटरका दरले वितरण गरेको हो। नापी कार्यालयले २०७३ जेठमा जग्गाको सीमाङ्कन र कित्ताकाटका लागि टोली पठाएको थियो। तर, नापी टोलीलाई हर्क उपाध्यायले आफूले खरिद गरेको र भोगचलन गर्दै आएको जग्गा २०५३ सालमा अजबहादुर विष्टले जालसाज गरेर मुक्त हलिया पुनःस्थापनका लागि नेपाल सरकारलाई बिक्री गरेको भन्दै अवरोध गरेका थिए। हर्क उपाध्याय लगाएतका स्थानीयले टोली फिर्ता पठाएपछि २१ परिवार मुक्त हलियाहरूले हालसम्म जग्गाको उपभोग गर्न पाएका छैनन्।

सुदूरपश्चिमका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले यो विषयको बारेमा पहिलो पटक जानकारी पाएको बताए। उनले भने, ‘जालसाजी भएको हो। जग्गा खरिद र बिक्री गर्न अब सकिदैन। हामीले निर्णय कार्यान्वयन गर्नुपर्ने हो। राज्यले दिने भनेको छ। तर, तलकाले यस्तो गर्न हुँदैन थियो।’

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ मा चार, बेलौरी नगरपालिका–१० शिवनगरमा २, बेलौरी नगरपालिका–१० भुरामा पाँच, बेलौरी नगरपालिका–८ पचाइमा एक, बेलौरी नगरपालिका–८ कानपुरमा तीन र भीमदत्त नगरपालिकाको तिलाचौरमा पाँच मुक्त हलिया परिवारले हाल बसोबास गर्दै आएका छन्।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस