सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सात वटा सडक निर्माणको काम पूरा, दुबै तिर रेलिङ्ग लगाइदै

२०८२ वैशाख ७, ०७:११ कमल सावद

धनगढी: कैलालीको धनगढीमा सात वटा सडक निर्माणका लागि २०७७ असार २८ गते सम्झौता भयो।

धनगढी उपमहानगरपालिकाको सहरी क्षेत्रको १० किलोमिटर सडक निर्माणको ठेक्का कालिका कन्स्टक्सनले पायो। २०७७ मङ्सिरबाट सुरु भएको सडक निर्माणको काम बल्ल पूरा भएको छ। सडकको क्षेत्राधिकार खाली नहुँनु, विद्युत्का पोलहरू र खानेपानीका पाइप लगायतको विवादका कारण काम ढिलो भएको हो। खानेपानीका पाइपहरू विस्तार गरिएको भएपनि समाधान अझै भएको छैन।

कालिका कन्स्टक्सनका प्रतिनिधि प्रकाश चन्द्र खरेलले खानेपानीका पाइपहरू विस्तार गरिएको बताए। तर, पानी जडानको काम खानेपानी संस्थानले गर्ने उनले बताएका छन्। उनले भने, ‘आयोजना अबको नौ महिना पछि बुझाउने हो। आयोजना मर्मत–सुधारको चरणमा गएको छ। एक वर्ष मर्मत सुधारको समय हुन्छ। खानेपानीको काम संस्थानले गर्ने हो। हामीले रेलिङ्गको काम मात्र गर्ने हो।’

एसियाली विकास बैँकको ऋण सहयोगमा सञ्चालन गरिएको क्षेत्रीय सहरी विकास आयोजनामार्फत धनगढीमा ४२ किलोमिटर सडक कालोपत्र गर्न सन २०१५ मा सम्झौता भएको थियो। तर, सडकको क्षेत्राधिकार लगायतको विवादका कारण ढिलो मात्र सम्झौता भएकाले १० किलोमिटरको मात्र ठेक्का भएको थियो। धनगढीमा ४२ किलोमिटर सडक निर्माण गर्न एक अर्ब ३५ करोड बजेट अपुग भएको थियो। धनगढीको १० किलोमिटर सडक ६८ करोड पाँच लाख ९८ हजारमा निर्माण गर्न सम्झौता भएको थियो। तर, पाँच वर्षसम्म १० किलोमिटर सडक निर्माणको कामसमेत सकिएको छैन। सडक कालोपत्रको काम पूरा भएपनि रेलिङ्गको काम बाँकी रहेको हो। उनले भने, ‘कागजी रूपमा आयोजना बुझाउन बाँकी हो। एक वर्षमा रेलिङ्ग लगायतको काम गर्न मिल्छ।’

धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको एक दशमलव ३८ किलोमिटर, दुई दशमलव ७ किलोमिटरको गुल्म–चर्च सडक, ७ सय मिटर लम्बाइको हुलाकी सडक–जाखोर ताल सडक, तीन दशमलव ६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, ८ सय ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, चार सय ३० मिटरको मालपोत सडक र एक दशमलव १५ किलोमिटरको हसनपुर सडक कालोपत्रको काम सकिएको हो। तर, सडक हस्तान्तरण भएको छैन। सडक मर्मत तथा रेलिङ्ग लगायतको काम नसकिएकाले हस्तान्तरणको काम बाँकी रहेको हो। तर, एक वर्षे मर्मत–सम्भारको चरणमा आयोजना रहेको छ। क्षेत्रीय सहरी विकास, धनगढीका इन्जिनियर पुष्प भट्टले हस्तान्तरणको काम बाँकी रहेको बताए। उनले अन्तरराष्ट्रिय मापदण्ड अनुसारको ठेक्का रहेकाले फरक रहेको बताए।

क्षेत्रीय विकासले निर्माण गरेका सडकहरूमा धनगढी उपमहानगरपालिकाले विद्युतीकरणको काम गरेको छ। बजार क्षेत्रका सडकहरू रातिको समयमा झिलिमिली हुने गरेका छन्।

 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस