संस्कार क्रिकेट : समूह चरणका खेल सम्पन्न

धनगढीः धनगढीमा जारी टिम इलाभेन संस्कार क्रिकेट लिग, २०८१ अन्तर्गत आइतवार सम्पन्न खेलमा उत्तर त्रिशूल र सायल गाउँपालिका विजयी भएका छन्। आइतवार भएका दुई खेलसँगै समूह चरणको समीकरण पूरा भएको छ।
आइतवारको पहिलो खेलमा संस्कार विद्याश्रमलाई दुई विकेटले पराजित गर्दै उत्तर त्रिशूल विजय भएको हो। टस जितेर पहिला ब्याटिङ गरेको संस्कार विद्याश्रमले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय १५ रन जोडेको थियो। संस्कार विद्या आश्रमका लागि विशाल बिष्टले २३ रन जोडेका थिए। बलिङ तर्फ उत्तर त्रिशूलका प्रवेश शाहले चार विकेट लगे। जवाफी ब्याटिङ गरेको उत्तर त्रिशूल धनगढी–४ ले १७ दशमलव तीन ओभरमा आठ विकेट गुमाएर १ सय १९ रन बनाउँदै जित हासिल गरेको हो। संस्कारका लागि अनिल राउतले पाँच विकेट लगे पनि टिमलाई जित दिलाउन सकेनन्।
आइतबार नै सम्पन्न अर्को खेलमा आवर ड्रिम सक्सेस ट्रेनिङ सेन्टरलाई १० विकेटले पराजित गर्दै सायल गाउँपालिका विजयि भएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको आवर ड्रिम १६ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय रनमा समेटिएको थियो। आवर ड्रिमलाई कम स्कोरमा रोक्न सायलका राजेन्द्र बहादुर बमले चार विकेट लगे।
एक सय १ रनको लक्ष्य सायल गाउँपालिकाले विना विकेट पूरा गरेको हो। १३ दशमलव दुई ओभर खेल्दै सायलका लागि सुरुवाती ब्याट्सम्यान सचिन साउदले ३४ र मनिस थापा ५३ रनको अविजित पारी खेलेका थिय ।
संस्कार विद्याश्रम गोदावरी नगरपालिका–८ स्याउलेको आयोजनामा बैशाख ३ गते देखि सुरु भएको प्रतियोगितामा सोमवार देखि सेमिफाईनल चरणका खेल हुनेछन्।
आयोजकका अनुसार सोमबार नेपाल वेष्ट्रन एकेडेमि धनगढी र नारायण स्पोर्ट एकेडेमि विच पहिलो सेमिफाईनल हुने छ भने सायल गाउँपालिका डोटी र युथ अफ टीकापुर विच दोश्रो सेमिफाईनल खेल हुने छ।
प्रतियोगिताको फाइनल खेल बैशाख ९ गते (मङ्गलवार) हुने छ।
प्रतियोगिता विजेताले नगद १ लाख ११ हजार १११ नगद सहित ट्रफि प्राप्त गर्ने छ। यसैगरी उप विजेताले ५५ हजार ५५५ रुपैयाँ नगद सहित आकर्षक ट्रफि पाउने छ।