सुदूर नेपाललाई विश्वसँग जोड्दै

यूएईस्थित नेपाली दूतावासद्वारा कामदारको स्वास्थ्य परीक्षण

। फोटो स्रोत ।
२०७६ असार २८, ०३:३८

यूएईमा रहेको नेपाली दूतावासले नेपाली कामदार कार्यरत रहेका कम्पनीका मजदुर क्याम्पमा स्वास्थ्य शिविरसहित सचेतना कार्यक्रम गरेको छ। शुक्रबार अबुधाबी नेशनल होटलअन्तर्गत अलऐन क्याम्प र सारजाहस्थित ल्याक्नोर नेशनल फूड प्रोडक्ट कम्पनीमा कार्यरत नेपाली कामदारको स्वास्थ्य उपचार र सचेतनामूलक छलफल गरेकोे हो। 

कार्यक्रममा सहभागी कामदारको निस्शुल्क स्वास्थ्य परिक्षण गरिएको छ। मेडियर र लाइफलाइन अस्पतालसँगको प्राविधिक सहयोगमा नेपाली कामदारको स्वास्थ्य परीक्षण गरिएको हो। अलऐनमा १ सय ५० जना र सारजाँहमा १ सय जना गरी २५० जनाको स्वास्थ्य परीक्षण भएको लाइफलाइन अस्पतालकी बजार प्रतिनिधि रन्जिना गुरुङले जानकारी दिइन्।

स्वास्थ्य परीक्षणमा धेरै जनामा उच्च रक्तचाप र मधुमेहको समस्या देखिएकोले खानपान र नियमित व्यायाम गर्न चिकित्सकले सुझाव दिएका छन्। यस्तै सहभागी कामदारबीच दूतावासको टोलीले कामदारका समस्या, तथा त्यहाँ बस्दा ध्यान दिनुपर्ने विषय, सवारी नियम, कमाएको पैसाको उचित प्रयोग, सुरक्षित बचत र घरमा पैसा पठाउँदा वैैधानिक बाटोको प्रयोग गर्नेबारे जानकारी गराएको छ।

नेपाली कामदारलाई आइपरेका समस्या बुझ्ने, समाधानको उपाय खोज्ने साथै दूतावासले दिने सेवासुविधाका विषयमा जानकारी दिन सचेतनामूलक कार्यक्रम गरिएको दूतावासकी द्वितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारीले बताए। कार्यक्रममा कामदारहरुलाई सम्बोधन गर्दै यूएईका लागि राजदूत कृष्णप्रसाद ढकालले यूएईसँग हालै नेपालले गरेको श्रमसम्झौता कार्यान्वयनमा आएपछि नेपाली कामदारका सबैजसो अपेक्षा सम्बोधन हुने बताए।

वार्षिक कार्यक्रम अन्तरगत दूतावासले गएको वर्षदेखि मजदुर क्याम्पमा सचेतना अभियानलाई निरन्तरता दिदै आएको हो। यसअघि दूतावासले अबुधाबी र दुबईमा यस्तै कार्यक्रम गरेको थियो।
 

कमेन्ट लोड गर्नुस