सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकार कम प्रगती भएका पूर्वाधारका योजनामा पूर्ण भुक्तानी दिदै

२०७६ असार २८, ०२:५७ जनक विष्ट

भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा डडेल्धुराको आलीताल गाउँपालिका ५ को रंगुन खोला तटबन्धनको ५० लाखको योजना र गाउँपालिका स्तरीय खेलमैदान निर्माणको २० लाखको योजनामा एउटै व्यक्तिलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर कार्यान्वयन गरिएको पाईएको हो। दुवै योजनामा स्थानीय ज्ञानेन्द्र जोशीलाई उपभोक्ता समितिको योजना बनाईएको छ। सोही वडामा रहेको बाल कल्याण आधारभुत विद्यालयको भवन निर्माणको १६ लाखको योजनामा भने वडा अध्यक्ष प्रकाश सिह बोहोरालाई उपभोक्ता समितिको अध्यक्ष बनाईएको छ।

डडेल्धुराबाट निर्वाचित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कर्ण मल्लले बुधबारको प्रदेशसभा बैठकमा यस विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। उनले जनप्रतिनिधी  र एउटै व्यक्तिलाई दुईवटा उपभोक्ता समितिको अध्यक्ष भएर काम गर्न पाउने अधिकार नभएपनि प्रदेशका पूर्वाधार विकासका योजनामा भने त्यसको दुरुपयोग भइरहेको भन्दै सरकारको ध्यानकर्षण गराए। तर वडा अध्यक्षले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएका कारण उपभोक्ता समितिमा बसेको दावी गर्दै आएका छन् भने नेकपाका स्थानीय नेता समेत रहेका ज्ञानेन्द्र जोशीले आफू कानूनका विषयमा अनभिज्ञ भएको र विगतमा पनि यस्ता अभ्यास चल्दै आएका कारण दुईवटा उपभोक्ता समितिको अध्यक्ष भएको जिकिर गरेका छन्।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तर्फका योजनामा यसरी कानून विपरीत उपभोक्ता समिति गठन गर्दै न्युन प्रगती भएका योजनामा समेत पूर्ण भुक्तानी दिने काम समेत भइरहेको आरोप लागेको छ। बुधबारकै प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य मल्लले नै न्युन प्रगती भएका सडक, सिँचाई लगायतका पूर्वाधारका योजनामा पूर्ण भुक्तानी दिईरहेको  भन्दै सरकारको ध्यानाकर्षण गराए।

उनले ६० लाखको डडेल्धुराको पर्शुराम नगरपालिकामा सार्वजनिक घुम्ती चुरेझाडी सडकमा २० लाखको काम गर्दै भुक्तानी दिने तयारी भएको, ५० लाखको कटाल खानेपानी योजनामा २० लाखको काम गरी पूर्ण भुक्तानी दिन लागिएको, जिल्लाको गन्यापधुरा गाउँपालिकामा ५० लाखको मठ सिचाई योजनामा ५ लाखको काम गरी पूर्ण भुक्तानी दिईएको उल्लेख गरे।

तर न्युन प्रगती भएका योजनामा पूर्ण भुक्तानी दिईएको विषयमा प्रतिक्रिया माग्न खोज्दा जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय डडेल्धुराका प्रमुख मेघराज ज्ञवाली सम्पर्कमा आएनन् भने पूर्वाधार विकास कार्यालयले सार्वजनिक घुम्ती चुरेझाडी सडकको आठ किलोमिटर क्षेत्रमा चौडाई विस्तार गरिएको र सोलीङ तथा ह्युम पाईप निर्माण भई ६० लाख बराबरकै काम भएपछि मात्र भुक्तानी दिईएको पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले दावी गरे।

उता दार्चुलाको व्यास गाउँपालिका ६ मा एक करोड बजेट विनीयोजन गरिएको बसन्तपुर  सिँचाई योजनामा पनि न्युन काम गरी पूर्ण भुक्तानी दिने तयारी भइरहेको आरोप लागेको छ। उक्त योजनामा २५ देखि ३० लाखको काम भएपनि उपभोक्ता समितिलाई ८० लाख भुक्तानी दिने तयारी भएको आरोप लागेको हो।

तर जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय दार्चुलाका प्रमुख कुमार खड्काले भने अहिले सम्म पेश्की स्वरुप २५ लाख मात्र भुक्तानी दिईएको तर काम सम्पन्न भइसकेकाले पूर्ण भुक्तानी दिईने जनाए। प्रदेशसभा सदस्य मल्लले बैतडीको शिगास गाउँपालिका वडा नम्बर ५ मा मुल नै नभएको स्थानमा खानेपानीको योजना हालेर बजेट खर्च भइरहेको जनाए भने सुख्खा खोलामा झोलुङगे पुलको योजना पारी ४७ लाख खर्च गरिन लागेको विषयमा समेत सरकारको ध्यानाकर्षण गराए। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस