सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाको दुर्गा मन्दिरमा मृत भेटिएका कैनीको हत्या आरोपीत सार्वजनिक

२०८२ वैशाख ४, ०५:५३ खबर संवाददाता

धनगढीः अत्तरियाको दुर्गा मन्दिरमा मृत भेटिएका जगदीश कैनीको हत्या आरोपितलाई सार्वजनिक गरिएको छ। 

कैलालीको गोदावरी नगरपालिका–१ दुर्गा मन्दिरमा चैत २७ गते बिहान मृत भेटिएका कैनीको हत्याका आरोपित हेमन्तबहादुर बोहरालाई प्रहरीले सार्वजनिक गरिएको हो। बैतडीको डिलासैनी गाउँपालिका–३ का ३५ वर्षीय बोहरालाई प्रहरीले बिहिवार सार्वजनिक गरेको छ। चैत २६ गते राति हत्यापछि बोहरा उतिखेरै फरार भएको र २७ गते बिहानै चौलानी होटेलमा काम सुरु गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।

बुधवार घर जाने भन्दै होटेलसँग दुई हजार बाटो खर्च मागेर उनी फर्किएका थिए। घटनास्थल नजिकै रक्सी खाएर बसिरहेको बेला उनलाई प्रहरीले पक्राउ गरेको हो।

मदिराको तालमा चार सय चोरीको आरोपमा हत्या

सशस्त्र प्रहरीमा ८ वर्ष जागिर खाएर छाडेका हेमन्त र एक महिला चैत २६ गते दिउँसो घटनास्थल नजिकैको शिविरमा मदिरा खान्छन्। उनीहरू नजिकैको धारामा केहीबेर कुरा गरेर छुटिएका हुन्छन्। प्रहरीको अनुसन्धानमा उनी राति करिब ८ः४५ बजे कैनी सुत्न आउँछन्।

त्यसअघि नै बोहरा सुतिसकेका हुन्छन्। राति करिब ९ बजेपछि हेमन्त रक्सी किन्न फेरि बजार पुग्छन्। अनुसन्धान खटिएका प्रहरी अधिकारीले भने ‘अभियुक्तले गुरुङ मःम पसलबाट रहर नामक मदिरा किन्छन् र फेरि घटनास्थलतर्फ लाग्छन्। उनी ९ः१५ बजेको समयमा मन्दिरमा पुग्छन्। त्यहाँ एक निन्द्रा सुत्छन्। मदिरा पिएपछि फेरि पानी लिन मध्यरातमा धारा जान्छन्। त्यही क्रममा आफ्नो गोजीमा राखेको चार सय नदेखेपछि आक्रोशमा आएको देखियो।

चैत ३ गते उनको झोला पनि हराएको रहेछ।’ इलाका प्रहरी कार्यालय, मालाखेतीका प्रमुख गंगाबहादुर थापाले भने, ‘मेरो पैसा चोरिस्, यसअघि झोला चोर्ने पनि तैँ होस् भन्दै बोहराले आवेगमा आएर कैनीलाई सुतेकै ठाउँमा ढुङ्गाले हाने। उनको मृत्यु नै भयो।’ कैनीको हत्यापछि हेमन्त शव केही तल ल्याएर फेरि ढुङ्गा हानेको साथै केही लुगा र हत्या गर्न प्रयोग गरेको ढुङ्गा फालेर घटनास्थल नजिकैको घरमा सुतेको खुलेको छ।

बिहान करिब ५ बजे उनी धनगढी पुगेर होटेल चौलानीमा काम गर्न थालेका थिए। त्यहाँबाट २ हजार लिएर घर हिँडेका थिए। ‘घर जाने भन्दै निस्किएका बोहरा फेरि घटनास्थलतर्फ गएर मदिरा पिउन थाल्छन्’, डीएसपी थापाले भने, ‘घटनास्थल नजिकै हामीले अनुसन्धान गरिरहेको र आशँका गरेको व्यक्ति देखिएको भन्दै खबर आएपछि बोहरा पक्राउ परेका हुन्।’ चैत २६ गते पावनदुत यातायातबाट आएको भन्दै उनले प्रहरीमा इन्कारी बयान दिए। तर, त्यो दिनको यात्रुको सूचीमा उनको नाम फेला परेन।

थप केरकार गर्नपछि जगदीशलाई आफूले मारेको हेमन्तले स्वीकारेका हुन्। ’५०/५५ जानलाई सोधपुछ गरेका थियौं। सीसी टिभी फुटेज र अन्य तथ्य प्रमाणको आधारमा घटनामा बोहराको संलग्नता भएको पाएका हौँ’, डीएसपी थापाले भने। बोहरालाई ज्यानसम्बन्धी कसुर मुद्दा दर्ता गरी म्याद थप गरिएको छ। दुबई गएर ६/७ महिनामा फर्किएका उनी होटेलहरूमा काम गर्दै आइरहेका थिए। अभियुक्त र मृतकबिच यसअघि कुनै सम्पर्क– सम्बन्ध नदेखिएको प्रहरीको दाबी छ। घटनाको अनुसन्धानका लागि प्रहरीले यसअघि नियन्त्रणमा लिएका अन्य तीन जना व्यक्तिहरूको सङ्लन्नताको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस