सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावलले गैरकानुनी प्रयोग गरेको गाडी फिर्ता

धनगढीः सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले गाडी फिर्ता गरेका छन्।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता समेत रहेका रावलले गैरकानुनी रुपमा प्रयोग गर्दैै आएको सरकारी गाडी फिर्ता गरेका हुन्। रावलले बुधवार आफूले प्रयोग गर्दै आएको गाडी प्रदेश सरकारलाई नै फिर्ता गरेको बताएका छन्।

गाडी फिर्ता गर्दै रावलले प्रदेश सरकारले सत्तापक्षीय दलको नेताको हैसियतमा उपलब्ध गराएको सुविधा अन्तर्गत गाडी प्रयोग गरेको दाबी गरेका छन। प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा सत्तापक्षीय संसदीय दलका नेतालाई गाडी सुविधाको व्यवस्था गरेका कारण लिएको दाबी उनको छ।


तर, उक्त ऐनमा भएको प्राविधिक त्रुटीमा संशोधन गर्न बाँकी रहेको अवस्थामा सरकारकै आग्रहमा गाडी प्रयोग गरेको उनले बताए। आफूलाई गाडी आवश्यक पर्छ भनेर कसैलाई दबाब नदिएको पनि उनले प्रस्ट्याएका छन्। हाल आर्थिक मामिला मन्त्रालयको सहमतिका लागि विचाराधीन अवस्थामा रहेको ऐन चाडै कार्यान्वयनमा जाने समेत उनले बताए।
आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले समेत संसदीय दलका नेताले गाडी सुविधाका लागि धम्की र दबाब नदिएको दाबी गरेका छन। प्रदेश सभाका पदाधिकारी र सदस्यको सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन संशोधनका क्रममा रहेको अवस्थामा बताउँदै सरकारले उपलब्ध गराएअनुसार नै रावलले गाडी प्रयोग गरिरहेको उनले बताए।
विचाराधीन अवस्थामा रहेको ऐन चाडै कार्यान्वयनमा आउने उनीहरू बताउँछन्।