राष्ट्रिय युवा सङ्घ कप भलिब : मालिका र डोटीको बिचमा आज उपाधि भिडन्त

धनगढी : कैलालीको धनगढीमा जारी राष्ट्रिय युवा सङ्घ कप भलिबल प्रतियोगिता २०८१ को आज उपाधि भिडन्त हुँदै छ।
सेमिफाइनल पुगेका चार मध्ये शाह पोल्ट्री फर्म, राना थारू आदर्श युवा क्लब हिजो बाहिरिए भने टिम मालिका र राष्ट्रिय युवा सङ्घ डोटी फाइनल पुगे। यी दुई टिमबिच आज दिउँसो ३ बजे उपाधि प्रतिस्पर्धा हुने छ।
राष्ट्रिय युवा सङ्घ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले चैत २९ गतेदेखि आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको विजेताले दुई लाख २५ हजार पाउने छन्। दोस्रो हुनेले एक लाख २५ हजार र तेस्रो हुने टिमलाई ७५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने युवा सङ्घले जनाएको छ।
नेकपा एमाले महासचिव शङ्कर पोख्रेलले उद्घाटन गरेको भलिबल प्रतियोगिताको आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले समापन गर्ने छन्।
पछिल्लो समय समाजमा बढिरहेको लागु पदार्थ दुर्व्यसनी रोक्न सचेतना फैलाउने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय युवा सङ्घ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष अरुण कुवरले जानकारी दिए।



