बैतडीमा सुदूरपश्चिम प्रदेशस्तरीय महोत्सव हुने

बैतडीः बैतडीमा सुदूरपश्चिम प्रदेशस्तरीय महोत्सव हुने भएको छ। बैतडीको पाटन नगरपालिकामा आगामी वैशाख २ गतेदेखि सुदूरपश्चिम प्रदेशस्तरीय महोत्सव लाग्ने भएको हो।
नेपाल च्याम्बर अफ कमर्स बैतडीको आयोजना र क्वालिटी आल्मुनियम स्टिलको मुख्य प्रायोजनमा महोत्सव सञ्चालन हुने च्याम्बर अफ कमर्स बैतडीका अध्यक्ष हरिस प्रशाद जोशीले जानकारी दिए। श्रीकृष्ण मावि पाटनको मैदानमा सञ्चालन हुने महोत्सवमा राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरुको प्रस्तुति रहने जोशीले बताए। प्रदेशस्तरीय कृषि पर्यटन कला संस्कृति रोजगार तथा औद्योगिक व्यापार मेला एवं पाटन बैतडी महोत्सव वैशाख १० गते सम्पन्न हुने जोशीले जानकारी दिए।

महोत्सवमा स्थानीय कृषि उत्पादनलाई जोड दिने र स्थानीय कलाकारहरुलाई प्रोत्साहन गरिने च्याम्बरका अध्यक्ष जोशीले बताए। यसले पर्यटन प्रबद्र्धन र संस्कृती क्षेत्रमा टेवा पुर्याउने आयोजकको दाबी छ। स्थानीय व्यापारमा वृद्धि गर्ने उद्देश्य रहेको बताउदै जोशीले आफ्नो उत्पादनको प्रदर्शनी तथा विक्रीवतरण गर्न सक्ने जनाईएको छ।

