धनगढीका आगलागी पीडितले कुनै राहत पाएनन्

धनगढीः धनगढीका आगलागी पीडितले सरकारी पक्षबाट कुनै पनि किसिमको राहत नपाएको गुनासो गरेका छन्।
२०८० मंसिर १ गते धनगढीस्थित नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको भवन र गोदाममा आगलागी भएको थियो। उक्त आगलागीमा धनगढीका ८ जना व्यवसायीको पसल र गोदाम पूर्णरूपमा क्षति पुगेको थियो।
व्यवसायीहरूले आगलागीबाट करिब १४ करोडको क्षति भएको र आवश्यक राहतका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग गुहार मागेको भए पनि सरकारले विभेद गरेको गुनासो गरेका छन्।
आगलागी पीडित भण्डारी जनरल स्टोर तथा भण्डारी सुज सेन्टरका प्रोपाइटर दलबहादुर भण्डारीले राहत वितरणमा प्रदेश सरकारले विभेद गरेको गुनासो गरेका छन्। उनले धनगढीका आगलागी पीडितले १६ महिनादेखि राहतका लागि पटकपटक अनुरोध गर्दा समेत प्रदेश सरकारले बेवास्ता गर्दै आएको गुनासो गरेका छन्।
आगलागीको घटनामा प्रदेश सरकारले राहत दिन नमिल्ने जिकिर गर्दै आएको प्रदेश सरकारले यसअघि जाजरकोटमा भूकम्प जाँदा समेत कर्णाली प्रदेश सरकारलाई सोझै आर्थिक सहयोग गरेको थियो।
धनगढी आगलागीको घटनाका पीडितहरूले पटकपटक हारगुहार गर्दा पनि आफूहरूलाई कानुन देखाएर मुख्यमन्त्री कमलबहादुर शाहले पन्छाउने काम गरेको भए पनि चैत २६ गते अछामको जयगढमा आगलागी हुँदा भने तत्कालै ५० लाख सहयोग गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री शाहले सरकारी कोषबाट राहत दिनसमेत विभेद गरेको धनगढी आगलागी घटनाका पीडितहरूको गुनासो छ।
अछाम पुर्खौली घर भएका मुख्यमन्त्री शाहले चैत २७ गते नै जयगढ आगलागी घटनाका पीडितहरूलाई ५० लाख सहयोग गर्ने निर्णय गरेको हो।आगलागीको प्रकृति एउटै भए पनि राहत वितरणमा भने जानाजान आफूहरूलाई विभेद गर्न खोजिएको पीडित भण्डारीको गुनासो छ। उनले मुख्यमन्त्रीले भेगियताको आधारमा आफूहरूलाई राहत दिन बन्चित गरेको पुष्टि भएको बताए।
धनगढी र जयगढको घटना उस्तै हो, हामीलाई प्रदेश सरकारले राहत दिन नमिल्ने बतायो,ू उनले भने, उता अछाम आगलागी घटनाका पीडितलाई भने तुरुन्तै राहत दिने निर्णय गरिएको छ। सरकारले खुलमखुल्ला विभेदको छ।