सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाको दुर्गा मन्दिरमा ढुङ्गाले हानेर एक जनाको हत्या

२०८१ चैत्र २७, ०३:४३ कमल सावद

धनगढी: कैलालीको अत्तरियास्थित दुर्गा मन्दिरमा मृत फेला परेका व्याक्तिको ढुङ्गाले हानेर हत्या गरिएको पाइएको छ।

जिल्लाको गोदावरी नगरपालिका–१ मालाखेती प्रहरीको अगाडि रहेको दुर्गा मन्दिरमा मृत फेला परेकाको ढुङ्गाले हानेर हत्या गरिएको प्रहरीको आशङ्का छ। उनको पहिचान खुलेको छैन। टाउँको बाया भागमा ठुलो चोट रहेको पुरुषको अनुहार पनि पूरा कुचिएको छ। उनको शव नजिकै रगत लागेको ढुङ्गासमेत प्रहरीले फेला पारेको छ। मन्दिर प्राङ्गण रक्ताम्मे भएकाले हत्या भएको प्रहरीले बताएको हो।

कैलाली प्रहरीका प्रवक्ता कबिन्द्र बोहराले हत्या गरिएको आशङ्का रहेको बताए। टाउको र अनुहारमा चोट देखिएकाले प्रहरीले हत्या भएको आशङ्का गरेको हो। तीन जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको उनले बताए।

पहिचान नखुलेका परुष अन्दाजी ३५ वर्षको जस्तो देखिन्छन्। स्थानीयहरूले अत्तरिया बजार क्षेत्रमा मागेर खाने र मन्दिरमा बस्दै आएको व्यक्तिको हत्यार भएको प्रहरीलाई बताएका छन्। तर, उनको ठेगानाका विषयमा स्थानीयसमेत जानकार छैनन्। उनको शव मन्दिरको दक्षिण तर्फ प्राङ्गणमा भेटिएको थियो। तर, घटना मन्दिर भित्रै भएको देखिएको प्रहरीले बताएको छ। शव भेटिएको ठाउँबाट २० मिटर जति दुरीमा रहेको मन्दिर प्राङ्गण रक्ताम्मे भएको छ। मन्दिरदेखि घिसारेर शव तल फालिएको जस्तो देखिएको प्रहरीले बताएको छ।

मन्दिरका पुजारी टिकादत्त पनेरु मङ्गलवार साँझ ७ बजे मन्दिरको मुख्य द्वार बन्द गरेर गएका थिए। तर, मन्दिरका अन्य तीन वटा प्रवेश द्वारहरूमा ताला छैन। घटनाको अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको टोली घटनाको अनुसन्धानका लागि परिचालन भएको छ। सादा पोसाकमासमेत प्रहरी परिचालन गरिएको छ। उनको शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस