कैलालीको चौकीडाँडा–फल्टुडे सडकको ‘काम नगर्ने ठेकेदारलाई थुन्ने’

धनगढीः कैलालीको चौकीडाँडा–फल्टुडे सडक निर्माणको काम अलपत्र पार्ने निर्माण व्यवसायी (ठेकेदार)लाई थुनाइने भएको छ।
जिल्लाको गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टले लामो समयसम्म सडकको काम अलपत्र पार्ने निर्माण व्यवसायहरूलाई प्रहरी लगाएर थुनामा राख्ने बताएका हुन्।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालसँग सडक निर्माणको काम अलपत्र पार्ने निर्माण व्यवसायीहरूलाई थुनामा राख्न उनले सोमवार आग्रह गरेका छन्। चार जना वडाध्यक्षसहित प्रमुख जिल्ला अधिकारीलाई भेट्ने पुगेका नगर प्रमुख भट्टले जनताले दुःख पाउदै आएको भएपनि निर्माण कम्पनीहरूले काम नगरेको भन्दै आक्रोश व्यक्त गरे।


निर्माण कम्पनीहरूसँग मौखिक, लिखित रूपमा आग्रह गर्दा पनि बेवास्ता गरेको भन्दै नगर प्रमुख भट्टले जिल्ला प्रशासन कार्यालय, कैलालीमा लिखित रूपमा गरिएको कागजमा आधारमा निर्माण कम्पनीका सञ्चालनकहरूलाई थुनामा राख्न भनेका छन्। उनले इलाका प्रहरी कार्यालय, मालाखेतीमा निवेदन दिनु परेपनि नगरपालिकाले दिने बताएका छन्। उनले भने, ‘चौकीडाँडा–फल्टुडे सडक अलपत्र छ। काम नै हुँदैन। हामीले पटक–पटक काम गर्न भन्दै आएका छौ। सहयोग पनि गर्छाै भन्छौ। तर, काम नै हुँदैन। जिल्ला प्रशासन कार्यालयमा लिखित सम्झौता पनि गरिएको छ। यो सम्झौतालाई आधार बनाएर, थुनामा राखिदिनु पर्यो। प्रहरीमा निवेदन दिनुपर्ने भएपनि, नगरपालिका दिन्छ।’
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय, धनगढीले २०७७ सालमा जिल्लाको गोदावरी नगरपालिका–१० को कृष्ण मन्दिर–बाँन्द्रेखाल सडक निर्माणका लागि ठेक्का सम्झौता गरिएको हो। चौकीडाँडा हुँदै फल्टुडे जोड्ने सडक निर्माणको काम अलपत्र पारिएपछि नगर प्रमुखसहित वडाध्यक्षहरू आक्रोशित भएका हुन्। थेगिम÷सनलाइट जेभीले साढे २ किलोमिटर सडक अलपत्र पारेको उनीहरूले बताएका छन्। चार वर्षदेखि सडक अलपत्र पारेको भन्दै निर्माण व्यवसायीलाई प्रमुख जिल्ला अधिकारी गोगन हमालले फोन सम्पर्क गरेका छन्। निर्माण कम्पनीका सञ्चालक अनिता पन्तले वैशाख २ गतेबाट सडक निर्माणको काम सुरु गर्ने प्रमुख जिल्ला अधिकारी हमालसँग भनेकी छन्। २०८२ वैशाख २ गते काम सुरु नभए, सञ्चालकलाई पक्राउ गर्ने प्रमुख जिल्ला अधिकारीले बताएका छन्।

गोदावरी नगरपालिका–१० को ओलानी क्षेत्रको दुई दशमलव पाँच किलोमिटर सडक कालोपत्र गर्न पाँच करोड ८४ लाख २५ हजारमा सम्झौता भएको थियो। सम्झौताको समय अवधिसमेत २०८१ असार २५ मा सकिएको छ। तर, सडक निर्माणको काम आधा पनि भएको छैन।
पूर्वाधार विकास कार्यालय, कैलालीले २०७९ चैत्र १७ गते दोस्रो ठेक्का सम्झौता गरेको थियो। तीन दशमलव एक किलोमिटर सडक कालोपत्र गर्न ६ करोड ६१ लाख ४१ हजारमा ठेक्का सम्झौता भएको थियो। तर, उक्त खण्डको सडक निर्माणको काम ३० प्रतिशत पनि पूरा भएको छैन। प्रदेश सरकार मातहतको कार्यालयले ठेक्का गरेका सडकका ठेक्काहरू अलपत्र परेका हुन। तेडी निर्माण सेवाका सञ्चालक दिलबहादुर ओलीलाई समेत प्रमुख जिल्ला अधिकारी हमालले फोन गरेका छन्। ओलीलाई पनि सडक निर्माणको काम सुचारु नभए पक्राउ गर्ने हमालले बताएका हुन्।
चौकीडाँडा–फल्टुडे सडकको काम अलपत्र पार्ने निर्माण कम्पनीहरूलाई प्रदेश सरकारले कुनै कारबाही समेत गर्न सकेको छैन। पूर्वाधार कार्यालय, कैलालीले पटक–पटक सडक निर्माणको काम गर्न आग्रह गर्दै आएको बताएका छन्। तर, कानुनी प्रक्रियामा भने, पूर्वाधार कार्यालय, कैलाली गएको छैन।