स्पोट्र्स अवार्ड : वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक

धनगढी: धनगढीमा हुने ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोट्र्स अवार्ड २०८१’ को थप एक विधाको मनोनयन सार्वजनिक गरिएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले वर्ष खेलाडी (पुरुष) को मनोनयन सार्वजनिक गरेको हो।
छनोट समितिका संयोजक सीताराम ओझाका अनुसार वर्ष खेलाडी पुरुषको मनोनयनमा खोखोका हेमराज पनेरु, करातेका मोहमद शेखु आलम र भलिबलका अर्जुन नेपाली छन्।
खोखोका पनेरु प्रथम खोखो विश्वकपको पुरुषतर्फ नेपाललाई उपविजेता बनाउने कप्तान हुन्। उनकै कप्तानीमा नेपालले चौथो एशियाली खोखो च्याम्पिएनसिप, नेपाल–भारत खोखो टेस्ट म्याच र प्रथम खोखो विश्वकप गरी तीन वटा प्रतियोगितामा लगातार रजत पदक जितेको थियो।


भलिबलका नेपाली श्रीलङ्कामा भएको काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपाललाई उपविजेता बनाउने कप्तान हुन्। सहाना प्रधान भलिबल प्रतियोगितामा सुदूरपश्चिमलाई तेस्रो बनाउन उहाँले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनी प्रतियोगिताकै उत्कृष्ट ब्लकर बन्न सफल भएका थिए।
करातेका आलम भुटानमा भएको आठौँ दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपाललाई एक स्वर्ण र एक रजत पदक जिताउने खेलाडी हुन्। उनले १६ औं एसिया प्यासिफिक सितुरियो कराँते च्याम्पियनसिपमा नेपाललाई कास्य पदक जिताएका थिए।

आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकका अनुसार मञ्चले आठ विधामा अवार्ड प्रदान गर्नेछ। वर्ष खेलाडी महिलाको मनोनयनमा खोखोकी मानमती धामी, कबड्डीकी मानमती विष्ट र बक्सिङकी स्वस्तिका तिरुवा परेका छन्।
वर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका नरेन साउँद, फुटबलका निराजन धामी र कबड्डीका सुशील चुनारा परेका छन्। यस्तै, वर्ष प्रशिक्षकको मनोनयनमा कबड्डीका विष्णुदत्त भट्ट, भलिबलका जगदीश भट्ट र कबड्डीकै हरिना थापा पर्नुभएको छ।
सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन्। स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेताको नाम भने अवार्डकै दिन घोषणा गरिने बताइएको छ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले बताए।
उनले अनुसार सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ।
धनगढी रंगशालामा हुने अवार्डमा विभिन्न साङ्गितिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ। गायक दुर्गेश थापाको पनि प्रस्तुति रहने मञ्चले जनाएको छ।