सुदूर नेपाललाई विश्वसँग जोड्दै

डाक्टर सुशील कोइरालालाई सम्मानपूर्वक विदाई, क्षयरोग उपचारमा उल्लेखनीय योगदान

२०८१ चैत्र १५, ११:५० खबर संवाददाता

धनगढीः मानव संशाधन विकास प्रतिष्ठानद्वारा गोदावरी नगरपालिका–६, श्रीपुरमा सञ्चालित लक्ष्मीनारायण क्षयरोग अस्पतालले दामियन फाउण्डेसन नेपालका प्रतिनिधि डाक्टर सुशील कोइरालालाई सम्मानसहित विदाई गरेको छ।

बेल्जियमको दामियन फाउण्डेसनले लक्ष्मीनारायण क्षयरोग अस्पताललाई स्थापनादेखि नै निरन्तर सहयोग गर्दै आएको थियो। नेपालमा दामियन फाउण्डेसनको कार्यक्रम समाप्त भएसँगै, लामो समयसम्म संस्थाका प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका डाक्टर कोइरालालाई विशेष समारोहबीच विदाई गरिएको हो।

लक्ष्मीनारायण क्षयरोग अस्पताल सुदूरपश्चिम प्रदेशकै प्रमुख क्षयरोग उपचार केन्द्र हो, जसले आवासीय सुविधा सहित निशुल्क उपचार सेवा प्रदान गर्दै आएको छ। वि।सं। २०७६ देखि दामियन फाउण्डेसनले अस्पतालको भवन निर्माण, सञ्चालन तथा स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको थियो।

सुदूरपश्चिमका बिरामीलाई गुणस्तरीय सेवा
दामियन फाउण्डेसन नेपालका प्रमुख डाक्टर सुशील कोइरालाले सुदूरपश्चिमका क्षयरोग प्रभावित बिरामीहरूलाई गुणस्तरीय सेवा दिन अस्पतालमा उल्लेखनीय सुधार ल्याएको प्रतिष्ठानका महासचिव पद्मराज जोशीले बताए।
उनले भने, ूअस्पतालले सुदूरपश्चिमका क्षयरोग पीडितहरूलाई खान, बस्न र औषधोपचारमा पूर्णरूपमा सहयोग गर्दै आएको छ। यसमा डा। कोइरालाको भूमिका अविस्मरणीय छ।

विदाई तथा सम्मान समारोह प्रतिष्ठानका अध्यक्ष लक्ष्मीराज पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै डा। कोइरालाले नेपालमा दामियन फाउण्डेसनले गरेको योगदानलाई स्मरण गर्दै भने,लक्ष्मीनारायण क्षयरोग अस्पतालको स्थापना तथा सञ्चालनमा हाम्रो संस्था र टिमको अतुलनीय योगदान रह्यो। यस अस्पतालले अझ प्रभावकारी सेवा दिन सक्नेछ भन्ने विश्वास छ।
संस्थाहरूको समन्वयमा स्थापित अस्पताल
मानव संशाधन प्रतिष्ठानका कोषाध्यक्ष सिवी चन्दका अनुसार, लक्ष्मीनारायण क्षयरोग अस्पतालको स्थापना नेपाल सरकार, दामियन फाउण्डेसन र मानव संशाधन विकास प्रतिष्ठानको समन्वयमा गरिएको थियो। यसले विगतदेखि नै क्षयरोग प्रभावितहरूको उपचारमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

क्षयरोग नेपालको प्रमुख स्वास्थ्य समस्यामध्ये एक हो। सुदूरपश्चिम जस्तो भौगोलिक रूपमा विकट क्षेत्रमा यस्तो उपचार सुविधा उपलब्ध गराउनु दामियन फाउण्डेसन र स्थानीय संस्थाहरूको ठूलो उपलब्धि हो।
प्रतिष्ठानका पदाधिकारीहरूले भविष्यमा पनि क्षयरोगविरुद्धको अभियानलाई निरन्तरता दिन सरकारी तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
 


 

कमेन्ट लोड गर्नुस