बाजुराकी रङ्गी नेपालीलाई ८९ वर्षमा नागरिकता

बाजुरा: बाजुराको बूढीगङ्गा नगरपालिका–८ की रङ्गी नेपालीले ८९ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन्।
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले नेपालीलाई आज नेपाली नागरिकता प्रदान गरेका हुन। उनलाई पहिलेदेखि नेपाली नागरिकता दिलाउन प्रयास गरिएपनि कानुनी जटिलताका कारण नसकेको सो वडाका वडाअध्यक्ष रमेश रावलले बताए। वडाअध्यक्ष रावलका अनुसार नेपालीको एक छोरीले विवाह गरेर गएपछि साहाराविहीन बन्नुभएकी उनले नागरिकता नहुँदा नगरपालिकाबाट प्राप्त सेवा सुविधाबाट वञ्चित भएकी थिइन। वडाध्यक्ष रावलले ती वृद्धाको आफन्त कोही नभएपछि आफैँले सनाखत गरेर नागरिकता दिलाउन सहयोग गरेको बताए। नागरिकता पाएपछि नेपालीले खुसी व्यक्त गर्नुभएको छ। आफ्नो सबै थोक नाताले भाई पर्ने रमेश रावल भएको प्रतिक्रिया उनले बताइन। ‘वडा अध्यक्ष कारणले मैले आज नागरिकता पाएँ’, नेपालीले भनिन्।
उनका श्रीमान बितेको २२ वर्ष भएपनि हालसम्म कानुनी प्रक्रिया नपुगेपछि नागरिकताबाट बञ्चित भएकी हुन्। नेपाली नागरिक भएको र स्थायी बसोबास गर्दै आएकी वृद्धालाई कानुनी प्रावधान पुरा गरी आज नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए। जिल्लाका दुर्गम बस्तीमा कतिपय नगारिकले समयमै नागरिकता नपाउँदा समस्या झेल्दै आएकाले प्रशासनमा वडाबाट सिफारिस भएर आएका नागरिकलाई कानुनी रूपमा समस्या नआउने गरी नागरिकता दिने गरेको उनको भनाइ छ।


