सुदूर नेपाललाई विश्वसँग जोड्दै

दाङको प्लाई उद्योगमा लागेको आगो नियन्त्रणमा

२०८१ चैत्र १३, ०७:३६ रासस

दाङः दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जिसीका अनुसार आज दिउँसोदेखि आगो नियन्त्रणमा आएको हो। “प्लाईको कच्चा वस्तु भएकाले कोट्याउँदा धुँवा निस्के पनि आगो नियन्त्रणमा ल्याइएको छ”, उनले भने, “अब जोखिम छैन।” आगो नियन्त्रणमा आइसकेकाले बाहिरी जिल्लाबाट आएका दमकल पनि फिर्ता पठाइसकिएको उनको भनाइ छ।

उनका अनुसार बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र रूपन्देहीको दमकललाई पठाइसकिएको छ। आइतबार बिहान करिब २ बजेतिर आगलागी भएको थियो तर, लामो समयसम्म आगो नियन्त्रण हुन नसकेपछि चौतर्फी आलोचना पनि भएको थियो। 

आगलागीबाट भएको क्षतिको विवरण भने अझै आएको छैन। प्लाई उद्योगमा रहेका सबै मेसिन, कच्चा वस्तु जलेर नष्ट भएका छन्। सोही उद्योगमा पाँच सय बढी कर्मचारीले काम गर्दै आएका छन्। 

कमेन्ट लोड गर्नुस