सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको बनारसी धाममा कोटिहोम महायज्ञ सञ्चालन हुने

२०८१ चैत्र १२, ०५:४९

बैतडी: बैतडीको बनारसी धाममा कोटिहोम महायज्ञ सञ्चालन हुने भएको छ। जिल्लाको पाटन नगरपालिका–३ स्थित प्रसिद्ध विश्वनाथ बनारसी धाममा आगामी चैत १७ गतेदेखि कोटिहोम महायज्ञ सञ्चालन हुने भएको हो।

विश्वनाथ बनारसी धाममा सहस्त्रचण्डी कोटिहोम १०८ श्रीमद्‍भागवत महापुराण अति रुद्राभिषेक तयारी सुरु गरिएको धामका धार्मिक प्रवक्ता पण्डित गणेश प्रसाद पन्तले बताए।

पौराणिक सरयू नदी अर्थात् सुर्नया नदीको किनारमा अवस्थित बनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग भएको संस्कृतिका जानकारहरूले बताउँदै आएका छन्। बनारसी धाममा विश्वनाथ ज्योतिर्लिङ्ग जीर्णदार गरेपछि हरेक वर्ष महायज्ञ सञ्चालन गरिँदै आएको पन्तले बताए। कोटिहोम अन्तर्गत एक हजार १ सय ११ कन्या पूजन, सवा पाँच कोटी दीप प्रज्वलन, ५ सय ५५ ब्राह्मण भोजन गराउने कार्यक्रम रहेको बताइएको छ।

त्यस्तै, ५ हजार ५ सय ५५ शालीग्राम शीला पूजन, ४ हजार ४ सय ४४ कलश पूजन, १०८ अखण्ड रामायण पाठपारायण, गायत्री महामृत्युञ्जय पुरश्चरण, आत्ममहापुराण, विष्णु धर्मोत्तरपुराण, वाशुकीपुराण, वाराहिसंहिता, १०८ उपनिषद्, चारवेद मृदंगपाठ प्रत्येक दिन सवालाख दीप प्रज्वलनगरी आरती गरिने पन्तले बताए। सुर्नया नदी संगममा चारपल्ट महाआरती गर्नुका साथै साथै विविध पाठपारायणको आयोजना गरिने तयारी रहेको बताइएको छ। कोटिहोम महायज्ञमा नेपालका ऐतिहासिक जगद्गुरुको सहभागिता रहनुकासाथै विभिन्न क्षेत्रबाट संस्कृतिका जानकार र विद्वानहरूको सहभागिता रहने पन्तले बताए।

परापूर्वकालमा खपरे नामक दैत्यको संहार गरेको हुनाले सोही बेलादेखि बनारसी देवतालाई शक्तिशाली देवताको रूपमा पूजाआजा गर्ने चलन रही आएको छ। कोटिहोम महायज्ञले विश्वनाथ बनारसी धामको महिमा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। बनारसी धाममा हरेक वर्ष माघ शुक्ल पक्षको दशमी अर्थात् शैल्य दशमीको दिन ठूलो जात्रा लाग्ने गर्दछ।

 

कमेन्ट लोड गर्नुस