सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्पोट्र्स अवार्डः महिला विधाको वर्ष खेलाडी मनोनयन सार्वजनिक

२०८१ चैत्र १२, ०७:३५ खबर संवाददाता

धनगढीः धनगढीमा यही चैत १९ गते आयोजना हुने ‘छैटौँ एसपीए सुदूरपश्चिम स्पोट्र्स अवार्ड २०८१’ को वर्ष खेलाडी महिला विधाको मनोनयन सोमवार सार्वजनिक गरिएको छ। 

खोखोकी मानमती धामी, कबड्डीकी मानमती विष्ट र बक्सिङकी स्वस्तिका तिरुवा वर्ष खेलाडी महिलाको मनोनयनमा परेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। छनोट समितिका संयोजक सीताराम ओझाले खोखोकी धामी प्रथम विश्वकपको महिलातर्फ नेपाललाई उपविजेता बनाउने खेलाडी रहेको जानकारी दिए। 

उक्त विश्वकपमा उनी दुई खेलमा वेष्ट अट्याक, एकपटक वेष्ट प्लेयर र वेष्ट डिफेन्डरको उपाधि जित्ने खेलाडी हुन्। बक्सिङकी तिरुवा बहराइनमा भएको आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा नेपाललाई स्वर्ण पदक जिताउने खेलाडी हुन्। कबड्डीकी विष्ट नेपाललाई एसियन महिला कबड्डी च्याम्पियनसिपमा पहिलोपटक कास्य पदक जिताउने कप्तान हुन्। इरानमा भएको छैटौँ एशियन महिला कबड्डी च्याम्पियनसिपमा उनले नेपाली महिला टोलीलाई दुई दशकपछि कास्य पदक दिलाएकी थिइन। 

स्पोट्स अवार्डमा आठ विधामा अवार्ड प्रदान गर्न लागिएको छ। यसअघि नै सुदूरपश्चिम आइकन पुरुष र महिला तथा वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक भइसकेको छ। वर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका नरेन साउद, फुटबलका निराजन धामी र कबड्डीका सुशील चुनारा परेका छन। वर्ष प्रशिक्षकको मनोनयमा कबड्डीका विष्णुदत्त भट्ट, भलिबलका जगदीश भट्ट र कबड्डीकै हरिना थापा परेकी छन्। 

सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेकी छन्।

उत्कृष्ट खेलाडी पुरुष तथा महिला विधाका विजेतालाई जनही ३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई जनही २५ हजारले पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए। 

सुदूरपश्चिम आइकन महिला तथा पुरुष विधाका विजेतालाई जनही २० हजारसहित ट्रफी प्रदान गर्न लागिएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको स्पोट्स अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) धनगढीले गरेको छ। मञ्चले बर्सेनि स्पोट्स अवार्डमार्फत उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी र प्रशिक्षकलाई पुरस्कृत गर्ने गरेको छ। 
 

कमेन्ट लोड गर्नुस