सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवाहको उमेर बहसः मन्त्रीबाट दुई विकल्प प्रस्ताव

२०८१ चैत्र ११, ०८:३३ खबर संवाददाता

काठमाडौँः विवाहको उमेरबारे पछिल्लो समयमा सरकार र संसदीय समिति दुवैले बहस चलाइरहेका छन्। विवाहका लागि २० वर्ष हुनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको ६ वर्षपछि नै उमेर पुनरवलोकनको बहस चलिरहेको छ। प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले पछिल्लो पटक कारागारको स्थलगत अध्ययन प्रतिवेदनले हालको उमेर १८ वर्ष बनाउनुपर्ने सुझाएको छ। गठित केही कार्यदल र मुलुकी संहिता सुधारका लागि गठित कार्यदलले पनि विवाहको उमेर परिवर्तन गर्न सुझाएको छ। 

आइतवार प्रतिनिधि सभाकै कानुन समितिमा सरकारका दुई मन्त्रीले विवाहको उमेरबारे बहस भइरहेको र विभिन्न विकल्पमा छलफल जारी रहेको बताएका छन्। गृहमन्त्री रमेश लेखक र कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उमेरबारे बहस भइरहेको र निचोडमा नपुगेको बताए। 

समितिमा गृहमन्त्री लेखकले सरकारले बालबालिकासम्बन्धी ऐन संशोधनको तयारीमा रहेको र त्यसमा विवाहको विषयमा छलफल जारी रहेको बताए। उमेर २० वर्ष कायमै राख्दा कतिपय देशमा प्रचलनमा रहेको ‘रोमियो जुलियट ल’लाई अभ्यासमा ल्याउन सकिने पनि धारणा राखे।  

समितिमा लेखकले भने, “विवाहको उमेरका विषयमा अत्यन्त गम्भीरतापूर्वक सोच्न आवश्यक छ। हामी बालबालिकासम्बन्धी ऐन संशोधन तयारीमा छौं। अहिले यो प्रक्रिया मन्त्रीपरिषद्मा विचाराधीन छ। त्यो संशोधन विधेयकमा विवाहको उमेर घटाउने हो कि भनेर हामी छलफलमा छौँ। अब हजुरहरूको धारणा पनि त्यस अनुकूल आएका हुनाले दुई उपाय छन्। एउटा विवाहको उमेर घटाउने कुरा छ, यसलाई १८ गरेर जाऔँ। अर्को अन्तर्राष्ट्रिय अभ्यासमा रोमियो जुलियट ल इन्ट्रोड्युस गर्ने कि भन्ने छ। धेरै ठाउँमा यसलाई एप्लाई गरिएको छ।”

मन्त्री लेखकले कारागारको भौतिक पूर्वाधार कमजोर र बन्दीको क्षमताभन्दा कम रहेको बताए। उनले कैदीबन्दीले पाउने सिदाको रकम पनि समयानुकूल हुन नसकेको बताए। हिरासत कक्षको अवस्थालाई पनि थप सुधार्नुपर्नेमा उनले जोड दिए। यस्तै कानुनमन्त्री चौरसियाले मुलुकी संहिता सुधारका लागि गठित कार्यदलले दिएको सुझावका आधारमा मन्त्रालयले पनि छलफल जारी राखेको बताए। उनले कानुनलाई आवश्यकताका आधारमा समयानुकूल बनाउन सरकार तयार रहेको पनि बताए। 

उनले भने, “कानुन संशोधनका विषयमा लामो समय छलफल चल्यो। १८ र २० वर्ष दुवैका बहस छन्। हामी कानुन मन्त्रालयमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतक बोलाएर छलफल पनि गरेका थियौँ, उमेरबारे त्यहाँ पनि विवाद भयो। धेरै विवादित भएमा भोलि संसद्मा पनि विवाद भई पारित नहुन सक्छ। विकल्पमा विवाहको उमेर नपुग्दासम्म आ–आफ्ना परिवारसँग रहने विकल्पमा पनि छलफल गरेका छौँ। गृहमन्त्रीले भने, “रोमियो जुलियटको कुरा पनि छ। यस्तोमा उमेरको विषय निक्र्योल गर्नु पर्छ।”

समितिमा गृहसचिव गोकर्णमणि दुवाडीले कारागारको पूर्वाधार स्तरोन्नतिको आवश्यकता रहेको बताए। दुवाडीले सुरक्षा व्यवस्थालाई थप सुदृढ पार्न पूर्वाधारसँगै जनशक्ति र स्रोतको पनि आवश्यकता रहेको बताए। नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले प्रहरीको पूर्वाधारका लागि बजेट अभाव रहेको बताए। अपराध अनुसन्धानलाई प्रहरीले गम्भीरतापूर्वक लिने थापाले बताए।

कमेन्ट लोड गर्नुस