धनगढीको शुभकामना स्कुलले मनायो १५ औँ वार्षिकोत्सव

धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा रहेको शुभकामना स्कुलले १५ औँ वार्षिकोत्सव मनाएको छ।
शनिवार विद्यालयले अभिभावक दिवस तथा वार्षिकोत्सव मनाएको हो। कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डाक्टर लोकबहादुर बिष्ट, उप प्राध्यापक मानबहादुर जोरा, डिल्लीराज फुलाराको उपस्थिति रहेको कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष हेमराज पन्तको अध्यक्षतामा सम्पन्न भएको हो। गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले २०६७ मा खुलेको शुभकामना स्कुलको आगामी शैक्षिक सत्रबाट नयाँ व्यवस्थापनसहित सञ्चालन हुने अध्यक्ष पन्तले बताए। उनले विद्यालयको नामसमेत परिवर्तन गरेर सञ्चालनमा आउने बताए।
शुभकामना स्कुलको नाम धनगढी प्रज्ञा सदन रहने र विद्यालयले निकट भविष्यमै आफ्नै जग्गामा नयाँ विद्यालय भवन निर्माण गरेर कक्षा १२ सम्म अध्यापन गरिने बताइएको छ।



