सुदूर नेपाललाई विश्वसँग जोड्दै

विषादीरहीत उपभोग्य वस्तुकोे सुनिश्चित गर्न आग्रह

। फोटो स्रोत ।
२०७६ असार २४, ०३:२४

राष्ट्रिय मानव अधिकार आयोगले विषादीरहीत उपभोग्य वस्तुमा आम उपभोक्ताको पहुँच सुनिश्चित गर्न आग्रह गरेको छ। सोमबार विज्ञप्ति जारी गर्दै आयोगका प्रवक्ता वेद भट्टराईले अन्य देशहरुबाट आयात गरिने तरकारी, फलफूल र खाद्यान्न लगायत उपभोग्य वस्तु सीमा नाकामा विषादी जाँच नगरी निर्वाध रुपमा आयात गर्न दिने गरी गरिएको निर्णय सम्बन्धमा ध्यानाकर्षण भएको भन्दै विषादीरहित खाद्य पदार्थ आम उपभोक्तालाई पु¥याउनुपर्ने बताए। 

नेपालभित्र उत्पादन हुने वा आयात गरिने खाद्यान्न, तरकारीलगायत उपभोग्य वस्तुको गुणस्तरीयता, स्वच्छता, विषादीरहीत अवस्थाको सुनिश्चित्ता र सुरक्षाको मुख्य जिम्मेवारी सरकारको भएकाले विषादीरहित खाद्यान्न उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ। उपभोक्ताको मानव अधिकारलाई मौलिक हकको रुपमा संवैधानिक संरक्षण प्रदान गरी नेपालको संविधानको धारा ४४ ले उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुने एवं गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानी पुगेमा क्षतिपूर्ति पाउने हकको सुनिश्चितता गरे अनुसार उपभोक्तालाई गुणस्तरीय विषादीरहित खाद्यान्न उपलब्ध गराउनुपर्ने भनिएको छ।         

आयोगले विषादीको कारण सिर्जना हुने मानवीय तथा वातावरणीय क्षति रोक्नुपर्ने, मुलुकभित्रै उत्पादन हुने तरकारी, फलफूललगायतका खाद्य तथा उपभोग्य वस्तुमा भइरहेको व्यापक र जथाभावी विषादीको प्रयोगलाई निरुत्साहित गरी आम–उपभोक्ताको सम्मानपूर्वक बाँच्न पाउने तथा गुणस्तरीय वस्तु प्राप्त गर्न पाउने हकको सम्मान र संरक्षण गर्न सरकारसँग आग्रह गरेको छ।

आयोगले विभिन्न समयमा गरेको अनुगमन, विभिन्न क्षेत्रबाट भएको अध्ययन अनुसन्धानबाट पनि नेपालमा विशेष गरी तरकारी उत्पादनका क्रममा व्यापक र जथाभावी रुपमा विषादीको प्रयोग हुने गरेको उल्लेख गर्दै उनले अन्य मुलुकहरुबाट आयात गरिने तरिकारी, फलफूललगायतका उपभोग्य वस्तुमा विषादीको मात्रा र अवस्थाको जाँच नै नगरी निर्वाध रुपमा आयात हुने गरेको पाइएको बताईएको छ। रासस

कमेन्ट लोड गर्नुस