सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले स्थगित गरेको लगानी सम्मेलन फेरि गर्दै

२०८१ चैत्र ७, ०६:४५ कमल सावद

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलन गर्ने भएको छ। गत वर्षको फागुन २३ र २४ गते गर्ने भनिएको लगानी सम्मेलन स्थगित गरेको प्रदेश सरकारले फेरि लगानी सम्मेलन गर्ने दाबी गरेको हो।

प्रदेश सरकारले सुदूरपश्चिमको वस्तुस्थिति बुझाउन, लगानी भित्र्याउन र निजी तथा साझेदार संस्थाहरूका लागि लगानीको वातावरण तयार गर्न सम्मेलनको आयोजना गर्ने बताएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले भदौको अन्तिम तथा असोजको पहिलो साता लगानी सम्मेलन गर्ने बताएका छन। मुख्यमन्त्री शाहले चैत २८ गते मूल आयोजक कमिटीको बैठक बोलाएको बताएका छन्। उनले भने, ‘हामीले भदौको अन्तिम तिर अथवा असोजको पहिलो हप्ता लगानी सम्मेलन गर्न गैरहेका छौ। चैत २८ गते मुल आयोजक समितिको बैठक राख्ने प्रक्रियामा छौ।’

गत वर्षको लगानी सम्मेलनमा नेपालसहित भारत, चीन, जापान, दुबइ, भेतनाम लगायतका मुलुकबाट लगानीकर्ताहरू धनगढी आउने दाबी प्रदेश सरकारले गरेको थियो। गत वर्ष लगानी सम्मेलन स्थगित गरेको प्रदेश सरकारले फेरि उपलब्धि मुलुक लगानी तथा विकास सम्मेलन गर्ने तर्क गरेको छ। मुख्यमन्त्री शाहले भने, ‘लगानी सम्मेलनहरू भएका छन्। गरिएका छन्। तर, हामीले फरक तरिकाले उपलब्धि मूलक बनाउने सोच बनाएका छौ। लगानी भित्र्याउने वातावरण कसरी बनाउन सकिन्छ ? चाहे मूलक बाहिरका हुन्, वा भित्रका निजी क्षेत्रलाई कसरी विश्वासमा लिन सकिन्छ ? विभिन्न विकास साँझेदारहरूलाई कसरी जोड्न सक्छौ ? यो सबै कुरामा हामीले प्रयत्न गर्दैछौ।’

सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहहरूका जनप्रतिनिधिहरूलाई विकास सम्मेलनमा सहयोग गर्न भनेको हो। राष्ट्रिय योजना आयोगले धनगढीमा बिहिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहहरूलाई विकास सम्मेलनको तयारीमा लाग्न र योजना बनाउन भनेका छन्। सुदूरपश्चिममा लगानी गर्न सकिने क्षेत्रको विषयमा जानकारी दिन र ठुला लगानीकर्ता भित्याउन लगानी सम्मेलनको तयारी फेरि सुरु भएको हो।

सुदूरपश्चिमको जलविद्युत्, पर्यटन, उद्योग, होटेल क्षेत्रमा गर्न सकिने लगानीका विषयमा छलफल गरिने छ। सुदूरपश्चिममा कृषि, जलस्रोत, उद्योग, पर्यटन र जडीबुटी क्षेत्रमा सम्भावना भएर पनि अहिलेसम्म कहिँकतैबाट ठुलो लगानी भएको छैन। निजी क्षेत्रले पनि लगानीको उचित वातावरण नभएको भन्दै लगानी गर्न मानिरहेको छैन्।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस