सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाँच करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

२०८१ चैत्र ६, ०९:४१ रासस

बागलुङ: बागलुङमा पाँच करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ। चार जना भुतपूर्व बेलायती र दुई जना सिंगापुरे लाहुरेसहित छ जनाले संयुक्त लगानी गरेर प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका हुन्।

उनीहरूले बागलुङ नगरपालिका–४ स्थित डाँडा खेतमा बेलायती र सिङुगापुरको सेनामा भर्ती हुन चाहने युवाका लागि सुविधा सम्पन्न छात्रावाससहितको प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका छन्। प्रशिक्षण केन्द्रमा सन् २०२६ को भर्तीका लागि तालिम लिन चाहने युवाहरूलाई भर्ना गर्न सुरु गरिएको प्रशिक्षण केन्द्रका सचिव जंगबहादुर पुनले जानकारी दिए।

बागलुङ, म्याग्दी र पर्वतका युवाहरू बेलायत र सिंगापुरको लाहुरेमा भर्ती हुनका लागि पोखरा, बुटवललगायतका स्थानमा पुगेर तालिम लिनुपर्ने बाध्यता रहेको भन्दै उनीहरूलाई नजिकै सेवा दिने उद्देश्यले तालिम केन्द्र सञ्चालनमा ल्याइएको उनले बताए। 

जैमिनी नगरपालिका–३ दमेकका बेलायती सेनाका भुतपूर्व लाहुरे पुनले तीन वर्ष पहिलेबाट प्रशिक्षण केन्द्र निर्माण सुरु गरेको जानकारी दिए। डाँडा खेतमा ६ रोपनी जग्गा खरिद गरी निर्माण सुरु गरिएको तालिम केन्द्रमा एक सयजना युवाहरूलाई एक साथ राखेर तालिम प्रदान गर्न सकिने पुनको भनाइ छ।

उनले भने, “बागलुङ, म्याग्दी र पर्व क्षेत्रका धेरै युवाहरू लाहुरे बन्न बढी चासो देखाउँछन्, यस क्षेत्रका कुनै पनि प्रशिक्षण केन्द्र नहुँदा अहिले हामीहरूले सञ्चालनमा ल्याएका हौँ, हालसम्म तालिम केन्द्रमा साढे पाँच करोड रुपैयाँ लगानी भइसकेको छ।”

अठार वर्षदेखि २१ वर्ष उमेर समूहका युवाहरू सिंगपुर र बेलायती सेनामा भर्ती हुनका लागि योग्य हुने भए पनि तालिममा भने १६ वर्षपछि नै प्रवेश गर्न सकिने केन्द्रका कोषाध्यक्ष पूर्णबहादुर रानाले बताए। राना सिंगापुर पुलिसबाट अवकासप्राप्त व्यक्ति हुन्। अहिले काठेखोला गाउँपालिका–८ लेखानी स्थायी घर भएका पूर्णबहादुर श्रेष्ठ केन्द्रमा प्रशिक्षकका रूपमा खटेका छन्।

कमेन्ट लोड गर्नुस