सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्ववियु निर्वाचनः मतदान सुरु

२०८१ चैत्र ५, ०९:२३ रासस

काठमाडौँ: त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ। 

अहिले बिहान ८ः०० बजेदेखि ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए। उनले अधिकांश क्याम्पसमा मतदान सुरु भइसकेको बताए। उनका अनुसार मतदान अपराह्न ४ः०० बजेसम्म हुने छ।

मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने उनले बताए। त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ। निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन्।

स्ववियु निर्वाचन २०६५ सालदेखि भने नियमित हुनसकेको थिएन। एकैपटक २०७३ चैत १५ गते निर्वाचन भएको थियो। त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो। त्रिविमा २०१८–१९ देखि प्रत्यक्ष प्रणालीबाट निर्वाचन हँुदै आएकामा २०३० सालसम्म प्रत्येक वर्ष र २०३६ सालदेखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन थालेको हो। 
 

कमेन्ट लोड गर्नुस