अमेरिका–युक्रेन शान्ति वार्ताअघि मस्कोमा ठूलो ड्रोन आक्रमण रुस
एजेन्सीः युक्रेन र अमेरिकाबीचको शान्ति वार्ता शुरू हुनुभन्दा अगाडि युक्रेनले मस्को र वरपरको क्षेत्रमा रातभर ठूलो ड्रोन आक्रमण गरेको रुसले बताएको छ।
मस्कोमा भएको ड्रोन आक्रमणमा कम्तीमा एक जनाको ज्यान गएको र तीन जना घाइते भएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। क्षेत्रीय गभर्नर आन्द्रेई वोरोब्येभले ड्रोन आक्रमणबाट एक आवासीय भवनमा रहेका सात वटा अपार्टमेन्टमा क्षति पुगेको बताउनुभएको छ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले शहरतर्फ गइरहेका ७३ वटा ड्रोनलाई खसालिएको र एउटा भवनको छानामा ड्रोनको भग्नावशेषले क्षति पुगेको उल्लेख गरे।
आक्रमणपछि मस्कोको एउटा जिल्लामा रेल नेटवर्क निलम्बित गरिएको र विमानस्थलहरूमा उडान प्रतिबन्ध लगाइएको बीबीसीको खबरमा उल्लेख छ।
रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि युक्रेन र अमेरिकाका प्रतिनिधिबीच साउदी अरेबियामा वार्ता हुने क्रममा यो आक्रमण भएको हो। युक्रेनले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।
अघिल्लो शुक्रवार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच चर्काचर्की भएको भएको घटनापछि पहिलो पटक युक्रेन र अमेरिका वार्तामा बस्न लागेका हुन।