सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा भारतबाट वर्षेनी तीन लाख टन तरकारी आयात हुँदै

२०७६ असार २३, ११:४२ कमल सावद

सुदूरपश्चिममा वर्षेनी तीन लाख टन भन्दा बढि तरकारी आयात भईरहेको छ। छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट प्रदेशमा वर्षेनी तीन लाख टन तरकारी आयात भईरहेको हो। प्रदेशमा वार्षिक एक लाख टन मात्रै तरकारी उत्पादन भईरहेका बेला त्यसको दोब्बर बढि तीन लाख टन छिमेकी मुलुक भारतबाट आयात भइरहेको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङक रहेको छ।

मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिले १६ हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिदै आएको छ। तरपनि आलु, प्याज, हरियो तरकारी, खुर्सानी, कागती, आँप लगायतका तरकारी र फलफूल वार्षिक रुपमा भारतबाट आयात भईरहेको छ। तरकारी आयातबाट मात्र सुदूरपश्चिमबाट वार्षिक २० करोड बढी रूपैँया भारतीय बजारमा गइरहेको मन्त्रालयका कृषि महाशाखा प्रमुख यज्ञराज जोशीले बताए।

‘भारतबाट आयात हुने तरकारीको दर उच्च रहेको छ,’ उनले भने, ‘सुदूरपश्चिममै तरकारी उत्पादन अपेक्षाकृत रुपमा बढ्न सकेको छैन्।’ उनका अनुसार प्रदेशमा वार्षिक मागको ३० प्रतिशत मात्र तरकारी उत्पादन भएका बेला फलफुलको उत्पादन भने त्यो भन्दा पनि कम रहेको छ। सरकारले कृषि उत्पादन बढाउन आवश्यक पर्ने उन्नत जातको बीउ, समयमै मलको व्यवस्थापन र सिँचाइ सेवा विस्तार गर्न नसकेको कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ८ का किसान जगतराम चौधरीले बताए। ‘सरकारले कृषिमा दिने अनुदान र सहुलियत कृषि कर्जामा गैर किसानको हालीमुहाली हुने गरेको छ,’ उनले भने, ’अनुदानको रकम पहुँचका भरमा वितरण हुँदा कृषि उत्पादन बढ्न नसकेको हो।’

भारतबाट आएका बिषादी युक्त तरकारी तथा फलफुलले नेपाली किसान मार्कामा परेको उनले बताए। भारतबाट विषादी परिक्षण गरेर मात्रै तरकारी र फलफूल भित्र्याउने नीति सरकारले लागु गर्दा स्थानीय किसान खुसी थिए। तर महिना दिन नपुग्दै उक्त नीति मन्त्रीपरिषद्को बैठक मार्फत नै सरकारले उल्ट्याएपछि स्थानीय किसानमा निराशा छाएको छ। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस