एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए
बैतडीः माध्यमिक परीक्षा (एसइई) का लागि जिल्लामा २७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। जिल्ला परीक्षा समन्वय समितिले आगामी चैत ७ गतेदेखि सञ्चालन हुने एसइई परीक्षाका लागि २७ वटा परीक्षा केन्द्र निर्धारण गरेको हो।
यो वर्ष दुई वटा परीक्षा केन्द्र थप गरिएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए। प्राविधिक धारतर्फका परीक्षार्थीका लागि वीरेन्द्र मावि शाहिलेक (ख) केन्द्र र ग्रेडवृद्धि परीक्षा दिने परीक्षार्थीका लागि वीरेन्द्र मावि शाहिलेक (ग) केन्द्र कायम गरिएको उहाँले बताए।
प्राविधिक धारतर्फका सात वटै विद्यालयका लागि वीरेन्द्र मावि शाहिलेक (ख) केन्द्र कायम गरिएको छ। वीरेन्द्र मावि शाहिलेकमा तीन वटा (क, ख र ग) केन्द्र तोकिएको छ। राष्ट्रिय परीक्षा बोर्डको पत्रअनुसार जिल्लामा दुई वटा केन्द्र थप गरिएको हो।
यस वर्षको एसइई परीक्षामा बैतडीका पाँच हजार तीन सय ६२ विद्यार्थीहरु सहभागी हुँदैछन्। नियमित र ग्रेडवृद्धि गरेर पाँच हजार तीन सय ६२ जना परीक्षार्थीले एसइई परीक्षा दिने शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिए।
साधारणतर्फका नियमित दुई हजार एक सय १५ छात्रा र एक हजार नौ सय ७६ छात्र गरेर चार हजार ९१ परीक्षार्थी सहभागी हुनेछन्। त्यसैगरी प्राविधिक धारतर्फका नियमित ९६ छात्रा र एक सय २० छात्र गरेर दुई सय १६ परीक्षार्थी सहभागी हुने शर्माले बताए।
पाँच सय ८६ छात्रा र चार सय ६९ छात्र गरेर एक हजार पाँच जनाले ग्रेडवृद्धि परीक्षा दिने उहाँले जानकारी दिए। बैतडीमा एक सय २८ वटा सामुदायिक र पाँच वटा संस्थागत विद्यालयका परीक्षार्थीले एसइई परीक्षामा सहभागिता जनाउने छन्।