सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजेट प्रस्तुत गरेको २२ दिनपछि सुदूरपश्चिमको सदन सञ्चालन

२०७६ असार २२, १०:५९ खबर संवाददाता

लगातार आधा दर्जन बढि पटक अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश सभाको बैठक आज सञ्चालन भएको छ। असार १ गते बजेट प्रस्तुत गरिएकोमा त्यसपछि प्रतिपक्षी दलको अवरोधका कारण प्रदेश सभाको बैठक बस्न सकेको थिएन्। एक पटक सदन सुचारु भएपनि प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरु उपस्थित नभएपछि कार्यसुचिमा प्रवेश नगर्दै स्थगीत भएको थियो। शनिवार सत्तापक्ष नेकपा,  प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाबिच बजेटका विषयमा केही सहमती भएपछि आज प्रदेश सभाको बैठक सञ्चालन भएको हो। आजको प्रदेश सभाको बैठकमा विशेष समयमा मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदिय दलका नेता डाक्टर रण बहादुर रावलले संम्वोधन गरेका छन्। 

मुख्यमन्त्री भट्टले प्रतिपक्षी दलहरुले राखेका गौरवका योजना बजेटमा राख्न संघीय सरकार समक्ष पहल गर्ने आश्वासन दिए। काग्रेस संसदीय दलका नेता रावलले गौरवका योजनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए। यस्तै आजको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले आगामी आर्थिक बर्ष २०७६-०७७ का लागि प्रदेश सभामा प्रस्तुत गरिएको बजेटमाथि छलफल सुरु गर्न प्रस्ताव राखेका छन्। अर्को बैठक २३ गते बोलाईएको छ। 

शनिवार मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिपक्षका माग सम्बोधन हुने गरी आइतबारको संसद बैठकमा सम्बोधन गर्ने र बजेट माथिको छलफल प्रारम्भ हुनु भन्दा अघि प्रतिपक्षी दलको तर्फबाट कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले सम्बोधन गर्ने सहमति भएको थियो। यद्यपी सत्तापक्ष र प्रतिपक्षबिच कुन–कुन बुदामा सहमती भयो भन्ने विषयमा जानकारी दिईएको छैन्। 
 

कमेन्ट लोड गर्नुस