जनसम्बन्ध राख्न नसक्नु माओवादीको कमजोरी : प्रचण्ड
टीकापुरः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियामा आइसकेपछि र सरकारमा भएका बेला सङ्घर्षका बेला जस्तो जनसम्बन्ध राख्न नसक्नु माओवादीको कमजोरी भएको बताएका छन्।
थारूवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनलाई टीकापुरमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन। ‘शान्ति प्रक्रियामा आएपछि र सरकारमा रहँदा जातीय मोर्चासँग पार्टीको सम्बन्ध कमजोर भयो। दह्रो बनाउन सकिएन। समाजवादी क्रान्तिका लागि जातीय मोर्चा झन् बढी आवश्यक भएकाले गम्भीर आत्मसमीक्षा गरेर वर्गीय मुद्दा पुनः उठाउन जनतामा आएको छु,’ उनले भने।
पूर्व प्रधानमन्त्री प्रचण्डले अलिअलि काँग्रेसको अलिअलि एमालेको रोग सरेकाले उपचार गर्न जनताबिच आएको बताए। अब नेपाली काँग्रेस र नेकपा (एमाले)सँग मिलेर कहिल्यै सरकारमा नजाने पनि उनले बताए। ‘आफ्ना पार्टीका पुराना कार्यकर्ताको माया लाग्छ। टीकापुरका नगर प्रमुख रामलाल डगौरा पनि पूर्व कार्यकर्ता हुनुहुन्छ। उहाँले स्वागत गर्नुभयो। मैले गुलाब रोपे,’ प्रचण्डले भने। ‘रेशमलाल चौधरीलाई आफूले जेलबाट छुटाउन पनि ठुलो मिहिनेत गरेको हुँ। तर, रेशमलालको पछि लागेर कतै पुगिँदैन। थारूलाई त्यस्तो लाग्छ भने त्यो भ्रम फालिदिनुस्।’
पार्टीका सुदूरपश्चिम इञ्चार्ज गिरीराजमणि पोखरेलले पनि पार्टीका तर्फबाट भएका गल्तीको समीक्षा गर्दै संविधानका उपलब्धिको रक्षा गर्नुपर्ने बताए। उपमहासचिव जनार्दन शर्मा, माओवादी केन्द्रको जातीय मोर्चाका संयोजक ओनसरी घर्ती, केन्द्रीय सदस्य नेपबहादुर चौधरी, नेपाली काँग्रेसका नेता रामजनम चौधरी लगायतले थारू बहुल क्षेत्रमा पहिचानसहितको सङ्घीयता अझै नआएकाले सङ्घर्ष जारी राख्नुपर्ने बताए।