रुस–युक्रेन युद्ध अन्त्य गरी युक्रेन बचाउन १८ युरोपेली देशले गठबन्धन बनाउने
एजेन्सीः बेलायती प्रधानमन्त्री केयर स्टार्मरले रुस–युक्रेन युद्धको अन्त्य गर्ने तथा युक्रेनलाई रुसबाट बचाउनका लागि युरोपेली देशहरुको गठबन्धन बनाउने बताए यसका लागि चार सूत्रीय योजना सार्वजनिक गर्दै अमेरिकालाई समावेश गर्ने योजना बनाइएको उनको भनाइ छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित फ्रान्स, बेलायत लगायत १८ युरोपेली देशको नेतृत्वसहितको सम्मेलनपछि बेलायती प्रधानमन्त्री स्टार्मरले आफूहरू इतिहासको महत्त्वपूर्ण मोडमा आइ पुगेको बताउको बीबीसीले जनाएको छ। उनले युरोपेली देशको माझमा विगतमा कहिले पनि नदेखिएको अभूतपूर्व एकता देखिएको बताए।
बैठकले युक्रेनमाथिको सैन्य सहयोग यथावतै राखेर रुसमाथिको आर्थिक दबाब बढाउने सहमति गरेको छ। बैठकमा युद्धको अन्त्य गर्ने विषयमा युक्रेनको भविष्यको सुरक्षाको ग्यारेन्टी तथा युक्रेनको सार्वभौम रक्षाको विषयलाई महत्त्व दिने सहमतिसमेत गरेका छन्। युरोपेली देशले सधैँका लागि शान्ति स्थापनाका लागि इच्छुकहरूको गठबन्धन गर्ने सहमति गरेका हुन्।