बाजुराकी एक वृद्धा हराएको २५ वर्षपछि फेला

बाजुराः बाजुराकी एक वृद्धा, हराएको २५ वर्षपछि फेला परेकी छन्।
जिल्लाको बुढीगंगा नगरपालिका–३ की एक वृद्धा हराएको २५ वर्षपछि भारतको उत्तराखण्ड राज्य अन्तरगत पिथौरागढमा फेला परेकी हुन््। आफ्नो नाम शान्ति बताउने ती वृद्धा पिथौरागढस्थित वान स्टप सेन्टरको आश्रयस्थलमा रहेको केआईएन (किन) इन्डियाका प्रमुख नवीन जोशीले जानकारी दिएका छन्।

लामो समय सडकमा बिताएकी उनलाई भारतीय प्रहरीले उद्धार गरी आश्रयस्थल पु–याएको थियो। भारतीय प्रहरीले उनको परिवार पत्ता लगाउन विभिन्न संघसंस्था तथा क्षेत्रीय निकायलाई जानकारी गराए पनि पहिचान हुन सकेको थिएन। भारतीय प्रहरीले यस विषयमा धेरैपटक परामर्श गरेपछि सामाजिक सञ्जालमा तस्बिरसहितको जानकारी पोस्ट गरिएको जोशीले बताए।


उनले सो पोष्टको आधारमा सामाजिक सञ्जालमा तस्बिर हेरेपछि उनकी छोरी वर्षा शाहले फोन गरेर उनी आफ्नी आमा भएको पुष्टि गरेको बताए। सन् २००७ देखि वान स्टप सेन्टरको आश्रयस्थलमा बस्दै आएकी ति वृद्धाको उमेर करिब ७० वर्ष रहेको भारतीय प्रहरीले जनाएको छ। बाजुराको बुढीगंगा नगरपालिका–३ निवासी उनका श्रीमान् चन्द्रबहादुर शाह र छोरा भूपेन्द्र शाहसमेत सम्पर्कमा आइसकेको बताईएको छ।