सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम विश्वविद्यालयः गन्तव्य एक गतिविधि अनेक!

२०८१ फाल्गुन ५, ०५:४४

लाल बहादुर बोहरा : विश्व्विद्यालयहरु विश्वतलाई आवश्यक पर्ने ज्ञानको उत्पादन, संरक्षण र प्रसारण गर्ने बिशिष्ट थलो मानिन्छन्।

त्यति मात्र हैन दुनियाँलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका केन्द्र तथा मातृ संस्थासमेतका रुपमा चिनिन्छन्। विश्व दुनियाँमा झैं नेपालमा पनि हाल दर्जन बढी विश्वविद्यालयहरु छन् र यिनैले यहाँको ज्ञानविज्ञान तथा दक्ष जनशक्ति उत्पादन तथा आवश्यकता अनुसार खपतको काम गर्दै आएका छन्। समग्रतामा नेपालका विश्वविद्यालयहरुले नेपालको इतिहाँस, नेपाली पन, साहित्य, संस्कार, जीवनशैली, ज्ञानविज्ञान, शिक्षा, अर्थतन्त्र, आदिलाई विश्वव्यापिकरण तथा विश्वमा व्याप्त यथार्थतालाई नेपाली संस्करणमा समायोजन गर्न आमरुपमा सहजीकरण गर्दै आएका छन्। नेपालका विश्वविद्यालयहरुको बजारमा सुदूरपश्चिम विश्वविद्यालय (सु.प.वि.)ले पनि आफ्नो स्थापनाको झण्डै डेढ दशक लामो समयदेखि यावत प्राज्ञिक संस्कारहरु मार्फत आफ्ना गतिविधिहरु क्रमशः अगाडि बढाउँदै आएको छ। यहाँ यो लेख मार्फत मैले सुदूरपश्चिम विश्वविद्यालयले नेपाली समाजको विकास, समृद्धि तथा रुपान्तरणकालागि के-कसरी आफ्ना गतिविधिहरु निर्देशित गर्दै आएको छ, त्यस सम्बन्धमा विस्तारपूर्ण तवरले जानकारी गराउने अनुमति चाँहन्छु। 

क्षेत्रगत हिसाबले सु.प.वि. सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाहरुसहित देशभरका अन्य विभिन्न भूभागहरुमा बिस्तारित भएको छ। यो विश्वविद्यालयसंग हाल एउटा केन्द्रीय क्याम्पस, १५ वटा आङ्गिक तथा झण्डै दुइदर्जन बढी सम्बन्धन प्राप्त क्याम्पसहरु अनुबन्धित छन्। आकर्षक खालका शैक्षिक कार्यक्रमहरुसहित यो विश्वविद्यालय अगाडि बढ्दै गएमा आवश्यकता अनुसार यसको दायरा अझैं फराकिलो हुने निश्चित छ। तर दायरा फराकिलो बनाउँदै जाँदा शैक्षिक गुणस्तरका बारेमा भने मिहिन ढंगले सोचबिचार गर्नै पर्दछ। जुनकुरा केहीबर्ष यता विश्वविद्यालयले संचालन गर्दै आएका विविध अनुसन्धानमुलक गतिविधिहरु, समयानुकुल पाठ्यक्रम परिमार्जन, पेशागत विकास, प्रकाशन, पदाधिकारी नियुक्तिको मापदण्ड कार्यान्वयन, स्वदेश तथा बिदेशस्थित विभिन्न विश्वविद्यालयहरु संगको कार्यगत एकताको प्रयास, आदिबाट प्रष्ट हुन्छ। यस खालका गतिविधिहरुको निरन्तरताले सिङ्गो संस्थाको प्राज्ञिक संस्कार सुनिश्चित हुने तथा समग्र विकास तथा रुपान्तरणमा टेवा पुग्ने कुरा निश्चित छ।

विश्वविद्यालयको पेशागत ओजलाई मध्यनजर गरी केही बर्ष यता शिक्षाशास्त्र तथा मानविकी संकायमा एम.फिल. तथा पि.एच्.डि. तहको अध्ययन सुरु भएको छ। यसको संकायगत विस्तारकालागि समेत हालछलफल चलिरहेको छ। निकट भविस्यमै व्यवस्थापन, कानुन, विज्ञान तथा ईन्जिनियरिङ्ग संकायमासमेत यसको विस्तार हुने निश्चित छ। यसखालको प्रयासबाट उच्चतहको दक्ष जनशक्ति उत्पादन हुनगइ अनुसन्धानका माध्यमबाट नयाँनयाँ ज्ञानको खोजि हुने तथा यहाँको शैक्षिक र सामाजिक विकासमा अतुलनीय योगदान पुग्ने देखिन्छ। विश्वविद्यालयमा अनुसन्धानतहको अध्ययन/अध्यापन सुरु भएसंगै हाल यहाँस्थित प्रत्यक क्याम्पसमा उच्चतहको डिग्रि हाँसिल गर्ने जनशक्ति प्रतिबर्ष थपिदै गएका छन्।

त्यतिमात्र हैन, सु.प.वि.ले केही बर्ष यता कार्यरत प्राध्यापक तथा कर्मचारीहरुको पेशागत विकासकालागि आफ्ना अनुसन्धानमुलक गतिविधिहरु समेत बढाउँदै लगेको छ। त्यसको अगुवाइ विश्वविद्यालय मातहतको अनुसन्धान केन्द्रले गरिरहेको छ। उदाहरणस्वरुप यसबर्ष मात्र२० वटा लघु-अनुसन्धान, ४ वटा फ्याकल्टी अनुसन्धान तथा २ वटा कोलाबोरेटिभ अनुसन्धानहरुसंग सम्बन्धित प्रस्तावनाहरु पारित भएका छन्। अनुसन्धान केन्द्रको यो प्रयास बिगतको निरन्तरता हो र समयानुकुल तरहले नविनतम ढंगबाट महत्त्वपूर्ण गतिविधिहरुका साथ अगाडि बढिरहेको पनि देखिन्छ। हाल अनुसन्धान केन्द्रसहित विभिन्न संकायहरु, विश्वविद्यालय अनुदान आयोग, प्रदेश तथा स्थानीयतह, आदि लगायतका निकायहरुमार्फत छुट्टाछुट्टै तथा सहकार्यणमा सानाठूला विविध अनुसन्धान तथा शैक्षिक गतिविधिहरु संचालन हुँदै आएका छन्। यी गतिविधिहरुले समेत सु.प.वि.को प्राज्ञिक संस्कार, नवप्रवर्तन तथा रुपान्तरणमा टेवा पुर्या उँने कुरामा दुइमत छैन।


त्यसैगरी विश्वविद्यालय तथा मातहतका क्याम्पसहरुमा आवधिकरुपमा विविध खालका कार्यशाला, सेमिनार, सम्मेलन, आदि संचालन गर्ने/गराउने संस्कारकोसमेत थालनि भएको छ। उदाहरणस्वरुप सु.प.वि.ले 'सम्पदा, नवप्रवर्तन तथा रुपान्तरण' बिषयक दुइवटा अन्तर्राष्ट्रिय सम्मेलनहरु सफलतापूर्वक सम्पन्न गरिसकेको छ। त्यसैगरी गतबर्ष मात्र सु.प.वि. र एक बेलाँयती विश्वविद्यालयको संयुक्त आयोजनामा अन्तर्राष्ट्रियस्तरको प्राज्ञिक शिखर सम्मेलन सम्पन्न भइसकेको छ। त्यसैगरी सु.प.वि.को सबैभन्दा ठूलो आङ्गिक संस्था कैलाली बहुमुखी क्याम्पसले गतबर्ष एउटा राष्ट्रिय सम्मेल संचालन गरेको तथा यो बर्ष (यही फाल्गुनमा) अन्तर्राष्टिय सम्मेलन संचालनको तयारीमा रहेको कुरा विधितै छ। यस बिचमा टिकापुर बहुमुखी क्याम्पस र जयपृथ्वी बहुमुखी क्याम्पसले समेत निकट भविश्यमै राष्ट्रिय सम्मेल संचालन गर्ने जमर्को गरिरहेका छन्। सु.प.वि. मातहतका अन्य आङ्गिक क्याम्पसहरुसमेत विविध खालका प्राज्ञिक गतिविधिहरु संचालन गर्दै आएका तथा केही नयाँ गतिविधिहरु गर्ने जमर्कोमा रहेका कुरा निरन्तरको प्रयासबाट अवगत नै छ।

सु.प.वि.को इतिहाँसमा एउटा अर्को अभूतपूर्व सफलता समेत प्राप्त भएको छः त्यो हो 'लोककथा संग्रह'को प्रकाशन। सु.प.वि. मातहतको भाषा, संस्कृति तथा साहित्य अध्ययन केन्द्रको अगुवाइमा सुदूरपश्चिमका नौवटै जिल्लाहरुमा कथनचल्तिमा रहेका वातहरु (लोककथाहरु) को संग्रह गतबर्ष प्रकाशन भएको थियो। यो दस्तावेजमार्फत सु.प.वि.ले यहाँका नौवटै जिल्लाहरुलाई एकसाथ जोड्ने काम गरेको छ। सुन्नमा आए अनुसार केन्द्रकै अगुवाइमा यो बर्ष सुदूरपश्चिम प्रदेशभर बिराजमान मूख्य-मूख्य देवालय (मन्दिरहरु) को ऐतिहाँसिक विकासक्रम, तिनको महिमा र किबदन्तिसहितको संगालो प्रकाशनमा आउने भएको छ। विश्वविद्यालयको इतिहाँसमा यस कार्यले समेत आम जनमानसमा एउटा नयाँ खालको जागरण पैदा गर्ने छ। समग्रमा यसखालका गतिविधिहरु मार्फत सुदूरपश्चिम प्रदेशको साँस्कृतिक विकास र संरक्षणकालागि सु.प.वि.ले के-कसरी योगदान पुर्यािउँदै छ भन्ने बारेमा जगजाहेर हुने छ।

उच्चशिक्षा अध्ययनकालागि यस विश्वविद्यालयलयमा प्रतिबर्ष हजारौं विद्यार्थीहरु आफ्नो जीवनयात्रा तयारी तथा गन्तव्य निर्माणकालागि भर्ना हुने गर्दछन्। ती विद्यार्थीहरुको सर्वाङ्गिण विकासकालागि विश्वविद्यालयका तर्फबाट अनेकाथरि प्रयासहरु हुँदै आएका छन्। शैक्षिक उन्नयनकालागि स्नातक र स्नातकोत्तरतहमा नयाँ भर्ना भएका झण्डै एकचौथाइ विद्यार्थीहरुलाई छात्रवृति दिइदै आएको छ। त्यसैगरी प्रदेशस्थित सामाजिक विकास मन्त्रालयसंगको सहकार्यमा प्रतिबर्ष झण्डै दुइदर्जन बढी विद्यार्थीहरु छनौंट गरी व्यतनसहितको इन्टर्नसिप कार्यक्रममा सरिक गराइने प्रावधान यसबर्षबाट कार्यान्वयनमा आएको छ। विद्यार्थीहरुको शारीरिक तथा सामाजिक विकासकालागि हरेक क्याम्पसमा प्रतिबर्ष सप्ताहव्यापी खेलकुद कार्यक्रम संचालन गरिदै आएको तथा अन्तर विश्वविद्यालयस्तरमा विविध खालका खेलकुद गतिविधिहरुमा विद्यार्थीहरुलाई सरिक गराउँने व्यवस्था समेत छ।

विश्वविद्यालयले कार्यरत प्राध्यापक तथा कर्मचारी र अध्ययनरत विद्यार्थीहरुको प्राज्ञिक विकासकालागि स्वदेश तथा बिदेशस्थित विभिन्न विश्वविद्यालयहरुसंग दोहोरो/तेहोरो समझदारी मार्फत विविध गतिविधिहरु संचालन हुँदै आएका तथा हुने क्रममा छन्। त्यस अन्तर्गत सिकाइ आदानप्रदान, लर्न र अर्न, अनुसन्धान सहकार्य, आदि पर्दछन्। उदाहरणस्वरुप केही दिन अगाडि मात्र सु.प.वि.को आयोजनामा संचालन भएको एउटा अन्तर्राष्ट्रिय सम्मेलनका दौरानमा नेपालका पाँचवटा विश्वविद्यालयहरु बिच अबउप्रान्त सिकाइ आदानप्रदान, शोधकार्य मूल्याङ्कन, प्राज्ञिक सेमिनार, गोष्ठी तथा सम्मेलन आयोजना, आदिका बारेमा सहकार्य गर्ने सम्बन्धी बहुआयामिक महत्त्वको समझदारी भएको छ।

यसको कार्यान्वयन हुन सके नेपालको शैक्षिक विकासमा अतुलनीय योगदान पुग्ने कुरामा ढुक्क हुन सकिन्छ। विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा अध्ययनरत विद्यार्थीहरुलाई मध्यनजर गरी विश्वविद्यालय अनुदान आयोगले समेत विविध कार्यक्रमहरु संचालनमा ल्याएको छ। जस्तै, छात्रवृति, सेमिनार, गोष्ठी, सम्मेलन, तालिम, विदेश भर्मण, सिकाइ आदानप्रदान, सानाठूला परियोजनाहरु, आदि। सु.प.वि. अन्तर्गतका विभिन्न सरकारी क्याम्पसहरुले अनुदान आयोगमार्फत प्रदान हुने सम्पूर्ण ग्रान्टहरु हाल यो वा त्यो रुपमा सदुपयोग गर्दै आएका छन्। दुर्गममा अध्ययन गर्ने विद्यार्थीहरुले विपन्न लक्षित छात्रवृति पाउँछन भने एम.फिल. तथा पि.एच्.डि. गर्न चाहने प्राध्यापक तथा कर्मचारीहरुले अध्ययन वृति। त्यति मात्र हैन अनुदान आयोगले स्नातकोत्तरतहका शोधार्थीहरुलाई समेत आर्थिक सहयोग गर्ने गरेको छ। यसकालागि पनि हाम्रा विद्यार्थीहरु प्रतिबर्ष लाभान्वित हुँदै आएका छन्। 

सु.प.वि.ले परीक्षा प्रणालीका बारेमा समेत समयानुकुल परिवर्तन गर्दै आएको छ। गत कोभिड-१९ ताका विद्यार्थीहरुको सहजता र अध्ययन अवधि ग्याप नहोस् भन्ने हेतुले होम टेक परीक्षा (अनलाईन मार्फत) प्रणालीको सुरुवात गरेको थियो; जुन नेपालकै विश्वविद्यालय इतिहाँसमा पहिलो र ऐतिहाँसिक थियो। त्यसैगरी होजोआज अनलाइनमार्फत नै विद्यार्थीहरुको परीक्षा फारम भराउने तथा अनलाइनमार्फत नै प्रवेशपत्र उपलब्ध गराउने व्यवस्था भएको छ। आगामि दिनहरुमा प्रश्नपत्र समेत बिशेष प्रावधानकासाथ अनलाइन माध्यमबाटै सम्बन्धित क्याम्पसहरुमा उपलब्ध गराउने प्रयास हुँदैछ। परीक्षा प्रणालीमा आएको यसखालको नवप्रवर्तनले एकातर्फ विद्यार्थीहरु लाभान्वित हुनेछन् भने अर्कोतर्फ विश्वविद्यालयको आर्थिक भारमा भारि मितव्ययिता कायम हुनेछ। समग्रमा परीक्षा प्रणाली सुधारका निम्ति भएको प्रयासले विश्विविद्यालयको गरिमालाई थप ओजपूर्ण बनाउँने छ।

स्थापनाका हिसाबले सु.प.वि. नेपालकालागि एउटा नयाँ शैक्षिक संस्था हो। प्राकृतिक तथा साँस्कृतिक हिसाबले निकै सम्पन्न तर विकासका हेतु हालसम्म पनि अति नै बिपन्नप्रदेश अन्तर्गत सु.प.वि. स्थापना हुनु संग अनेकौं अवसर र सम्भावना तथा केही चुनौतिहरु पक्कै छन्। प्राकृतिक हिसाबले यहाँ दर्जनौं सानाठूला हिमालहरु, खप्तड जस्तो राष्ट्रिय निकुन्ज, बन्यजन्तु आरक्ष, तालतलैया, लेकबेसी, आदि छन्। साँस्कृतिक तथा ऐतिहाँसिक महत्त्वका अनेकाथरी दरवारहरु, मठमन्दिर, चालचलन, भेषभुषा, बोलिचालि, चाँडपर्व, आदि समेत छन्। बन पैदावार तथा जन्तुका हिसाबले पनि यहाँको विविधता अद्‍भूत छ। तर यी सबै अहिलेसम्म पूर्णतयाः भर्जिन अवस्थामा छन्। न यिनको मिहिन तवरले अध्ययन/अनुसन्धान भएको छ; न त पर्यटकीय महत्वसंग जोडेर लाभ लिन सकिएको छ। अव सु.प.वि.ले विध्यमान विविधताको चिरफार गर्नै पर्दछ।

विश्वविद्यालयतहको शिक्षालाई यहाँको मौलिकता र धरातलीय यथार्थतासंग जोड्न ढिलाई गरिनु हुँदैन। पहाडी तथा हिमाली भूभागमा बनपैदावार तथा पर्यापर्यटनका अति नै सम्भावनाहरु छन्। ती ठाउँहरुमा अवस्थित क्याम्पसहरुलाई जडिबुटी तथा पर्यटनसंग सम्बन्धित बिषयबस्तु पढाइ हुने गरी विकसित तथा बिस्तारित गरिनु पर्दछ। त्यो संगै विश्वविद्यालयले मुख्यगरी अनुसन्धान नवप्रवर्तनकालागि व्यापक काम गर्न आवश्यक छ। त्यसकालागि अनुसन्धान तर्फको हालको मौजुदा बजेटमा निकै बढोत्तरी गरी कार्यरत प्राध्यापकहरुलाई सुदूरपश्चिम प्रदेशको मौलिक विविधताका बारेमा अध्ययन/अनुसन्धानमा यथासिघ्र सरिक गराउनु पर्दछ। विश्वविद्यालयले आफ्नो बौद्धिक सम्पति आर्जन गरेसंगै यसको महत्त्वले व्यापकता पाउँने तथा अन्तर्राष्ट्रियस्तरको र्यादङ्किङमा स्तरोन्नति हुने कुरामा ढुक्क हुन सकिन्छ।

अन्तमा, सु.प.वि.ले आफ्नो डेढ दशक लामो स्थापनाकालमा कयौं राम्रा प्रयासहरु मार्फत आफूलाई समृद्ध बनाउँदै लगेको छ। यो लेखमा उल्लेख गरिए झैं यस क्षेत्रको शैक्षिक विकासकालागि तमाम राम्रा कामहरु भएका छन्। विश्वविद्यालय भित्रको प्राज्ञिक संस्कार क्रमशः फूल्ने र फक्रने क्रममा छ। मातहतका संस्थाहरुले विश्वविद्यालयको प्राज्ञिक उन्नयनकालागि एकपछि अर्को गरी आफ्ना गतिविधिहरु बढाउँदै लगेका छन्। कार्यरत प्राध्यापक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरुमा क्रमशः प्राज्ञिक संस्कार बिजाङ्कुरण हुँदै गएको छ। यसबिचमा लामो समयदेखि बल्झिँदै आएको समायोजन प्रक्रियाको समेत सफल अवतरण हुन सकेमा सुनमा सुगन्ध छाउँने थियो।

आशा छ, विश्वविद्यालयले बिगतका केही कमिकमजोरीबाट पाठ सिक्दै र सफल प्रयासहरुबाट उत्साहित हुँदै आफ्नो आगामि यात्रा तय गर्ने छ।

कमेन्ट लोड गर्नुस