छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु: गृहमन्त्री लेखक

काठमाडौँ: संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लगायतका विषयमा गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएको छ। आइतबार गृह मन्त्रालय पुगेर समितिका संयोजक लोकबहादुर विश्वकर्माको टोलीले गृहमन्त्री लेखकलाई ज्ञापन पत्र बुझाएको हो।
ज्ञापन पत्र बुझ्नुहुँदै गृहमन्त्री लेखकले जातीय विभेद निर्मूल हुनुपर्छ भनेर सरकार पनि लागिपरेको बताए। ‘संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चिता हुने गरी राख्नुपर्छ भन्ने मान्छे हुँ । त्यही अनुसार सबै राजनीतिक दलबिच सहमति भएको हो। जातीय विभेदलाई निर्मूल हुनुपर्छ भनेर म सधैँ लागि परेको छु,’ उनले भने।
गृहमन्त्री लेखकले जातीय विभेद र छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउने बताए। ‘प्रहरी प्रधान कार्यालयमा एउटा डेस्क बनाउँछु। उसलाई ७७ जिल्लामै डेस्क बनाउन भन्छु,’ उनले भने। आफू गृहमन्त्री भएपछि नेपाल प्रहरीमा दलित समुदायबाट डम्बर विश्वकर्मा डिआइजी भएको बताए।
‘डम्बर विश्वकर्मा एसएसपी हुनुहुँदो रहेछ। डिआइजी बढुवा गर्दा डम्बरलाई नछुटाई गर्नु भनेँ। नेपाल प्रहरीमा पहिलो पटक एक जना डिआइजी हुनुभयो,’ उनले भने। निर्वाचनसम्बन्धी ऐनमा महिला र दलितको विषय ज्यादा महत्वका साथ आफूले लिएको गृहमन्त्री लेखकले बताए।



