कैलालीमा महिला सामुदायिक वन पुरुषले चलाउँदै

धनगढीः कैलालीमा महिलाले नेतृत्वसहित संरक्षण, व्यवस्थापन गर्ने गरी दर्ता भएका कतिपय महिला सामुदायिक वनलाई पुरुषले चलाइरहेका छन्।
महिला नेतृत्व पछाडि हटेपछि उपभोक्ता समितिको नेतृत्व पुरुषले गर्न थालेका हुन्। सामुदायिक वनको अवधारणा आएपछि सामुदायिक वनमा महिला नेतृत्व र सहभागिता बढाउनका लागि महिला सामुदायिक वन बनाउने कार्य भएको थियो। यहाँ थुप्रै महिला सामुदायिक वन छन् तर त्यसको नेतृत्व महिलाले नभई पुरुषले गरिरहेका छन्।
जिल्लाको भजनी नगरपालिका–३, काँढामा रहेको मैथुनियाँ महिला सामुदायिक वन डुबनारायण महतोको हातमा छ। त्यस्तै वडा नम्बर ९ खुरहुरियामा रहेको हरियाली महिला सामुदायिक वनको नेतृत्व श्रीपाल चौधरीले गरिरहनुभएको छ। कुँडीस्थित जमुनी महिला सामुदायिक वन उपभोक्ता समितिको नेतृत्व स्थानीय बुधराम चौधरीले गरिरहनुभएको छ जिल्लामा कतिपय सामुदायिक वन नाम मात्रका महिला सामुदायिक वन रहेको सामुदायिक वन समन्वय समिति भजनीका अध्यक्ष खोजराम चौधरीले बताए।
उनले विभिन्न कारणले नेतृत्व तहबाट महिला पछाडि हटेपछि सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुरुष बनेको बताए। केही सामुदायिक वनमा महिला नेतृत्व निष्क्रिय भएपछि पुरुष अगाडि बढेको बताउँदै उनले भने, “कतिपय सामुदायिक वनका अध्यक्ष चन्दा वा धम्की जस्ता आतङ्कका कारण डराएर नेतृत्व त्यागेका छन्। सामुदायिक वनमा सानो बहाना भेट्टाउनेबित्तिकै दलका कार्यकर्तादेखि लिएर मिडियाका व्यक्तिले समेत डर धम्की दिएर रकम माग्ने गर्छ। अति नै भएपछि केही महिलाले डराएर नेतृत्व छाडेपछि अहिले पुरुषले चलाइरहेका छन् ।” खास गरेर जिल्लाको भजनी क्षेत्रमा रहेका सामुदायिक वनले चन्दा आतङ्क बढी झेलिरहेको अध्यक्ष चौधरीले बताए।
हरियाली महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष श्रीपाल चौधरीले महिलाले उपभोक्ता समिति चलाउन नसकेका कारण पुरुष अध्यक्ष बन्न थालेको बताए। “राति गस्ती जानु पर्छ । विभिन्न समयमा खट्नुपर्ने कारणले महिलालाई सामुदायिक वनमा चुनौती छ, भने जस्तो सजिलो छैन,” उनले भने कानुनले सामुदायिक वन महिला वा पुरुषको मात्रै छुट्टै रहने व्यवस्था गरेको छैन ।
कानुनले केवल सामुदायिक वन भनेर मात्रै व्यवस्था गरेको छ तर वनमा महिला सहभागिता बढाउने क्रममा महिलाका नाममा सामुदायिक वन बनाउने चलन चलेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिमका सूचना अधिकारी भोजराज पाठकले बताए।



