सुदूर नेपाललाई विश्वसँग जोड्दै

शङ्खरापुर बस दुर्घटना, २७ जना ’डिस्चार्ज’, चालक पक्राउ

२०८१ फाल्गुन १, ०२:५०

काठमाण्डौः काठमाण्डौको शङ्खरापुर नगरपालिका–५ कात्तिके सडकमा बा २ ख ७९५८ नम्बरको विद्यार्थी बोकेको बस हिजो दिउँसो दुर्घटना हुँदा घाइते भएका ४३ मध्ये आज २७ जना उपचारपछि घर फर्किएका छन्।

उनीहरू उपचारपछि आज घर फर्किएका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए। उनका अनुसार नगरकोटमा ’पिकनिक’ खाएर आउने क्रममा सत्यसाई एकेडेमीका विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो।

सडकबाट तल खसेर भएको दुर्घटनामा मोरङको उर्लाबारी नगरपालिका–७ घर भएका ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भएका २३ वर्षीय सुरेश तामाङ र सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई काठमाण्डौको बौद्ध बस्ने १४ वर्षीय शुसाङ्क डोटेलको ज्यान गएको थियो। उनीहरू तीनै जना विद्यार्थी हुन्। दुर्घटनामा गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगञ्जमा, सुरेशको नेपाल मेडिकल कलेजमा र शुसाङ्कको शङ्खरापुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो।

अहिले दुई जनाको केएमसी अस्पताल, नौ जनाको एनएमसी अस्पताल, एक जनाको मेडिसिटी अस्पताल, दुई जनाको शिक्षण अस्पताल महाराजगञ्ज, एक जनाको हेल्पिङ हेण्ड अस्पताल चाबहिलमा र एक जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ। बसका चालकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस