मेक्सिकोमा बस दुर्घटना, कम्तीमा ३० जनाको मृत्यु
मेक्सिको सिटीः मेक्सिकोको दक्षिणी क्षेत्रमा बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको पत्यक्षदर्शीले बताएका छन्।
स्थानीय अधिकारीले अहिलेसम्म मृतक सङ्ख्या पुष्टि गर्ने आधिकारिक विवरण सार्वजनिक गरेका छैनन्। स्थानीय समयअनुसार शनिबार बिहान रिसोर्टहरूको शहर क्यानकुन र ताबास्को राज्यकोबीचमा यात्रा गरिरहेको एउटा बस एस्कार्सेगा शहरमा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। अधिकारीहरुले नौ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताएका छन् भने स्थानीय सञ्चारमाध्यमले कम्तीमा ३० जनाको मृत्यु भएको समाचारमा जनाएका छन्।
एस्कारसेगा रहेको क्याम्पेचे राज्यकी प्रशासन प्रमुख एलिसा हर्नान्डेजले भने, “हामीसँग मृत्यु हुनेको आधिकारिक सङ्ख्या अझै प्राप्त भइसकेको छैन। मृतकको शरीर क्षतविक्षत भएकोले तिनीहरूलाई सङ्कलन गरी पहिचान गर्ने काम भइरहेको छ।