बैतडीका प्रेमसिंह ३८ वर्षदेखि तरकारी खेतीमा, वार्षिक ६ लाख आम्दानी

धनगढीः बैतडीको डिलासैनीका प्रेमसिंह माल ३८ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। ७० वर्षीय मालले २०४३ सालदेखि तरकारी खेती गर्न थालेका हुन्।
२०४३ मा तत्कालिन गोकुलेश्वर गाउँ पञ्चायतका प्रधानपञ्च चुनिएका मालले सोही वर्षदेखि तरकारी खेती गर्न थालेका हुन्। २०५६ सालदेखि तरकारी खेतीको क्षेत्र बढाएका मालले करिब १५ रोपनीमा तरकारी खेती गरेका छन्। बाबुले ३८ वर्षदेखि गर्दै आएको तरकारी खेतीमा २०७६ सालदेखि छोरा देवेन्द्रसमेत संलग्न छन्।
स्नातक गरेका छोराले पिताले गरेकै पेशा अपनाएका कारण ७० वर्षीय माल भने निकै खुसी छन्।
तरकारी खेती गर्न अमेरिकी नागरिकको प्रेरणा र बैँकका कर्मचारीको साथ
बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ६ गोकुलेश्वरका ७० वर्षीय प्रेमसिंह माल ३८ वर्षदेखि तरकारी खेती गर्दै आएका छन्। २०४३ सालमा तत्कालीन गोकुलेश्वर गाउँ पञ्चायतका प्रधानपञ्च चुनिएका मालले सोही वर्षबाट तरकारी खेती सुरु गरेका हुन्। कक्षा १० सम्मको औपचारिक शिक्षा हासिल गरेका मालको २०४७ को राजनीतिक परिवर्तन पश्चात् राजनीति प्रतिको मोह भङ्ग भएको हो।
सर्वसाधारणले राजनीति गर्न नसक्ने अवस्था आएकाले आफूले तरकारी खेतीलाई जीविकोपार्जनको साधान बनाएको उनको भनाइ छ। २०५५ सालसम्म कमै क्षेत्रफलमा तरकारी खेती गर्दै आएका मालले २०५६ देखि भने तरकारी खेतीको क्षेत्रफल बढाएका हुन्। रोटरी क्लबमा आबद्ध अमेरिकी नागरिक डाक्टर एरल थम्सनको प्रेरणाले प्रधानपञ्च भएकै वर्षबाट तरकारी खेती गर्न सुरू गरेको मालले बताए। ‘अमेरिकी नागरिक डाक्टर एरल थम्सनको प्रेरणाले मैलै तरकारी खेती गर्न थालेको हुँ। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले मलाई थम्सनसँग भेट गराएका हुन्।
उनै थम्सनले खोलेको संस्थाले गोकुलेश्वरमा पनि काम गरेको थियो,’ उनले भने, ‘कृषि विकास बैँकका कर्मचारी परमेश्वर चौधरीको मेरै घरमा डेरा थियो। उनले पनि मलाई एक तरकारी लगाउने बारे व्यवहारिक ज्ञान दिएका हुन्। पछि आएर राजनीति भन्दा तरकारी खेती गर्नु राम्रो लाग्यो र खेतीपाती नै गर्न थाले।’
चमेलिया जलविद्युत् आयोजनसँगै फस्टायो तरकारी खेती
प्रेमसिंह माललाई कृषि विकास बैँक गोकुलेश्वरका तत्कालीन नासु परमेश्वर चौधरीले तरकारी खेती सम्बन्धी व्यवहारिक ज्ञान दिएका हुन्। सप्तरी जिल्ला घर भएका चौधरीले नै माललाई समूह दर्ता गरेर तरकारी खेती गर्न र कृषि विकास कार्यालयसँग प्राविधिक सहयोग लिने विषयमा सहयोग गरेका हुन्।
स्थानीय बजारको माग अनुसार तरकारी उत्पादन गर्दै आएका मालले चामेलिया जलविद्युत् परियोजनाको काम सुरु भएपछि भने तरकारी खेतीको क्षेत्रफल दोब्बरले बढाएका हुन्। हाल करिब १५ रोपनीमा वर्षभरि तरकारी खेती गर्दै आएका मालले तरकारी खेतीबाट हुने आम्दानी नै परिवारको मुख्य आयस्रोत रहेको बताएका छन्। उनले तरकारी खेतीबाटै घरका सम्पूर्ण व्यवहार गर्न खर्च चलीरहेको बताएका छन्। ‘तरकारी खेतीमा स्वाभिमान छ। मेहनत अनुसारको प्रतिफल मिल्ने गर्छ,’ उनले भने, ’राजनीति गरेर गाली मात्रै पाउने, राम्रो गर्दा पनि जस नपाइने भएकाले राजनीतिको मन मारेर तरकारी खेती गर्न थाले। अहिले राम्रै छ। चमेलिया आयोजना बन्न थालेदेखि सडक पनि पुग्यो र बजार पनि विस्तार भयो।’
बुवाकै पेशामा तन्नेरी छोरा पनि
प्रेमसिंह माल बैतडीकै अगुवा तरकारी किसान हुन्। आफूले गरेको पेसा छोरा देवेन्द्रबहादुर माललेसमेत अपनाएका कारण उनी निकै खुसी छन्। युवाहरू विदेश पलायन हुने अहिलेको अवस्थामा त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातक गरेका छोरा गाउँमै बसेर खेतीपातीमा लागेकोमा उनले गर्व महसुस गरेका छन्।
२०७६ सालदेखि बुवाकै पदचाप पछ्याउन थालेका देवेन्द्र राजनीतिसँगै कृषि पेशामा संलग्न छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका बैतडी जिल्ला प्रवक्ता रहेका देवेन्द्रले कृषि पेशा स्वाभिमानी पेशा भएकाले व्यावसायिक तरकारी खेतीलाई आयआर्जनको मुख्य आधार ठानेर काम गरिरहेको बताएका छन्। उनले २०७६ मा पूर्णिमा कृषि फार्म दर्ता गरेर व्यवसायलाई औपचारिक रूप दिएका हुन्।
देवेन्द्रले तरकारी खेतीसँगै गाउँमै एग्रोभेट समेत चलाएको बताए। ’कृषि पेशामा स्वाभिमान छ, मेहनत गर्न पाइन्छ र घरमै बसेर आम्दानी पनि हुने भएकाले मेरो रोजाइमा परेको हो,’ उनले भने, ‘विदेश जानुभन्दा गाउँमै बसेर परिवारको हेरचाह पनि गर्न सकिने नियमित आम्दानी पनि भइरहने भएकाले मेरो रोजाइमा पनि तरकारी खेती नै परेको हो। अहिले बुवा–आमा पनि खुसी छन् जहान र बालबच्चा पनि खुसी नै छन्।’
तरकारी खेतीबाट वार्षिक ६ लाख आम्दानी
आफै खानलाई तरकारी लगाउन थालेबाट सुरु भएको प्रेमसिंह मालको तरकारी खेतीको यात्रा आयआर्जनको मुख्य आधार भन्दै छोरा देवेन्द्रले समेत अपनाएका छन्। आफूले गरेको पेशामा छोरासमेत सक्रिय भएपछि ७० वर्षीय माल निकै खुसी भएका छन्। माल बाबु–छोराले काउली, बन्दा, आलु, प्याज, च्याउ, गोलभेँडा, खुर्सानी, लौका, करेला लगायतको तरकारी उत्पादन गर्दै आएका छन्।
देवेन्द्रले तरकारी खेतीबाट वार्षिक ६ लाख आम्दानी हुने गरेको बताएका छन्।



