जनयुद्ध हिंसा नै हो : नेता थापा

धनगढी : नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले जनयुद्ध हिंसा नै भएको बताएका छन्।
एमालेका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न अछाम पुगेका थापाले बिहिवार यस्तो बताएका हुन।
नेपाल पत्रकार महासङ्घ, अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धलाई हिंसात्मक द्वन्द्व भनेकोमा पनि आपत्ति नरहेको उनले बताए। ‘जनयुद्ध भनेको हिंसा नै हो। हिंसा भनेको रक्तपात हो, त्यहाँ मर्ने र मार्ने हुन्छ। त्यसकारण अध्यक्षले भनेको भनाइमा मेरो आपत्ति छैन। यो कुरालाई माओवादीले पनि मान्छ।’ मार्क्सवादी सबै क्रान्तिकारीहरूले युद्धद्वारा पनि समस्याको समाधमान गर्नुपर्छ भन्ने मान्यता राख्ने बताउदै उनले भने, ‘हिंसा भनेको वर्ग सङ्घर्ष हो। सङ्घर्षको सर्वोच्च रूप हो।’ सामाजिक विज्ञान र माक्र्सवादले युद्धलाई राजनैतिक आन्दोलनको सङ्घर्षको उच्चतम रूप मानेको उनले बताए।
२०३७ सालमा राजनीतिक यात्रा सुरु गरेका थापा लामो समय माओवादीमै रहेका थिए। उनी २०५० मा नेकपा माओवादीमा आबद्ध भएका थिए। भूमिगत कालमा माओवादीको विभिन्न संगठन हुँदै २०६४ सालमा एकीकृत नेकपा माओवादीको उनी महासचिव भएका थिए। रक्षामन्त्री र गृहमन्त्रीसमेत भइसकेका उनी नेकपाका सचिवालय सदस्य बनेका थिए। पछि सर्वोच्च अदालतले एमाले र माओवादीको एकीकरणलाई अवैधानिक ठहर गरेपछि थापा एमालेमै बसेका थिए।
पछिल्लो समय उनले माओवादीको आलोचना गर्दै आएका छन्।



