नेपाललाई थाइल्याण्डले दियो १०७ रनको लक्ष्य

काठमाडौंः त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाअन्तर्गत घरेलु टोली नेपाललाई थाइल्याण्डले सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जित्दै पहिले ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०६ रन जोडेको हो। थाइल्याण्डका लागि चनिदा सुथिरुङले सर्वाधिक २७ रन तथा थिपाच्चा पुथावाङले २५ रन जोडे। उनीहरु दुवै नटआउट रहे। बलिङमा नेपालकी मनिषा उपाध्यायले सर्वाधिक ३ विकेट लिइन्। प्रतियोगितामा नेपालले यसअघि खेलेका तीन वटै खेलमा पराजित भएको छ।
नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । थाइल्याण्ड भने तीन वटै खेलमा अपराजित छ । पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थाइल्याण्डले दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो।
