सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्जुन ट्रफीः कप्तान सन्दीप र आयुषमानको अर्धशतकमा डडेल्धुराको लगातार दोस्रो जित

२०८१ माघ २१, ०२:२१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा डडेल्धुराले लगातार दोस्रो जित हासिल गरेको छ।

गो ड्रिर्मसको आयोजनामा भईरहेको प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा बोष्टन क्रिकेट झापालाई ७७ रनको फराकिलो अन्तरले हराउँदै डडेल्धुराले सेमिफाईनलको सम्भावना बलियो बनाएको हो। डडेल्धुरालाई चार अंक सहित समुह ए को शिर्षस्थानमा पुराउनका लागि कप्तान सन्दिप जोरा र ओपनर आयुषमान बमले सानदार प्रदर्शन गरे। 

फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा सोमवार भएको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको डडेल्धुराले खराब मौसमका कारण छोट्टईएको १५ ओभरमा ३ विकेट क्षतिमा एक सय ४३ रन बनायो। ओपनिङ ब्याट्सम्यान आयुषमान बमले अविजित ५७ रनको पारी खेले ३६ बलको सामना गरेका उनले एक छक्का र ७ चौका प्रहार गरे। कप्तान सन्दिप जोराले पनि ५१ रनको अर्धतशकीय पारी गरे। ३० बलको सामना गरेका उनले ४ छक्का र ४ चौका प्रहार गरे।

कुशल भुर्तेल २ रन र विनोद भण्डारी ५ रनमा आउट भएपछि धर्मराएको फेण्ड्स क्लब डडेल्धुराको पारीलाई कप्तान सन्दिपले ओपनर आयुष्मान तेस्रो विकेटका लागि ८३ रनको साझेदारी गर्दै आफ्नो टीमलाई उच्च स्कोरतिर पुराए। डडेल्धुराका लागि किरण ठगुन्नाले १० बलमा २१ रन बनाए। बोष्टन क्रिकेट झापाका लागि अरुण ऐरीले २ विकेट लिए भने पवन कार्कीले एक विकेट आफ्नो नाममा लेखाए। 

एक सय ४४ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको बोष्टन क्रिकेट झापाले १५ ओभरमा ९ विकेट क्षतिमा ६६ रन मात्रै बनाउन सक्यो। झापाका लागि ओपनरद्धय सनम बुढाथोकीले १७ रन र दिपु भुजेलले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन्। २८ रनमा पहिलो विकेट गुमाएको झापाले त्यसपछि ३८ रन बनाउँदा ७ विकेट गुमाउन पुग्यो। झापाका चार खेलाडी रनको खाता नखोली पेलिभियन फर्किए।

डडेल्धुरालाई जिताउनका लागि कुशल भुर्तेलले ४ विकेट लिए। अजय चौधरीले दुई विकेट लिए। रवि बिष्ट, आवाज गौतम र कप्तान सन्दिप जोराले एक एक विकेट लिए। खेलमा ५७ रनको अविजित पारी खेलेका फ्ण्ड्स क्लब डडेल्धुराका आयुषमान बम नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए। उनले नगद १० हजार सहित ट्रफी पाए। प्रतियोगिता अन्तर्गत भोली दुई वटा खेल हुनेछन्।पहिलो खेलमान्यु होराईजन बुटबल र दशरथ चन्द एकेडेमी बैतडी प्रतिस्पर्धा गर्नेछन्। दोस्रो खेलमा डिसिए धनगढी र बोष्टन क्रिकेट झापा खेल्नेछन्। नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ।

धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन्  प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ।

कमेन्ट लोड गर्नुस